कास्की । कास्की पोखरा महानगरपालिका– २३, दुन्डेफाँटमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका– २४, पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारको क्रममा आज बिहान ०२:४२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका अन्य १२ जनाको जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको छ। गएराति अन्दाजी ९:४० बजे जिप अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।
पर्वतको पैँयु गाउँपालिका– ७ घर भई हाल पोखरा महानगरपालिका– २४, लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएको ग.४च १३४४ नम्बरको बोलेरो जिप घाटीछिनाबाट पोखरातर्फ आउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। चालकले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।