मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– ६, चिसापानीगढीमा भएको यात्रुवाहक इभी दुर्घटनामा घाइते भएका पाँचजनामध्ये तीनजनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
अस्पताल ल्याइएका घाइतेमा दुई बालक र एक पुरुष रहेका छन् । एक बालकको अवस्था मध्यम रहेको छ भने अन्य दुईजनाको अवस्था सामान्य छ ।
मकवानपुर प्रहरीका अनुसार अस्पताल ल्याइएका घाइतेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्।
दुर्घटनामा घाइते भएका मुकेशको टाउको र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । पाँच वर्षीय सक्षमको शरीरमा भित्री चोट लागेको भए पनि अवस्था सामान्य रहेको जनाइएको छ ।
तीन वर्षीय सुदनको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीबाट करिब पाँच सय मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरी उद्धार कार्य जारी राखिएको छ । दुर्घटनामा परेका अन्य घाइतेको अवस्था र मृतकको पहिचानसम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।