सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई युवती रूपन्देहीबाट पक्राउ

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

बुटवल । रूपन्देहीको विभिन्न स्थानमा देउसीभैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनी, रूपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका– १०, महिलावार बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका– ७ बस्ने ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका– ३ बस्ने २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

प्रहरीले तिहार तथा देउसीभैलोजस्ता परम्परागत सांस्कृतिक कार्यक्रमहरूमा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सदभावको संरक्षण गर्नुको सट्टा अमर्यादित ढंगले अश्लील नृत्य, गीत र संगीत प्रदर्शन गर्ने जोसुकैमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। 

पक्राउ परेकामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार