धनकुटा । धनकुटाको पाख्रीबासबाट जुवा खेलिरहेको अवस्थामा आज बिहान कौडा र नगदसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाख्रीबास नगरपालिका– ९, लिसम्बुस्थित विष्णु घिसिङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी नायब निरीक्षक गणेश दाहालको कमान्डमा प्रहरी टोली खटिएको थियो । सो टोलीले जुवा खेलिरहेको अवस्थामा बिहान २:३० बजे सातजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट ठुलो कौडा १४ वटा, सानो कौडा १६ वटा र खालबाट नगद चार हजार बरामद गरेको छ भने उनीहरूको साथबाट नगद एक लाख सात हजार ३१५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका– ९ का ५५ वर्षीय विष्णु घिसिङ, ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लीलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ ।
उनीहरूविरुद्ध ‘जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने’ मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त थापा क्षेत्रीले बताए ।
गत कात्तिक १२ गते पनि पाख्रीबास बजारबाट कौडासहित ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चाडबाड सुरु भएसँगै धनकुटा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ ।