दैलेख । दैलेखकाे गुराँस गाउँपालिका– १, काफलतोलीस्थित कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कालीकोट सन्नित्रिवेणी गाउँपालिका– ६ बस्ने वर्ष ४१ का रने सार्की रहेका छन् । उनको बिहान ०८:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान ०५:३० बजे कालीकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र. ०२–००१ च १२१५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइते हुनेमा कालीकोट सन्नित्रिवेणी गाउँपालिका– ७ बस्ने वर्ष २२ का चालक योगेश सिंखडा, वर्ष १८ का गंग सार्की, वर्ष २१ का तपेन्द्र सिंखडा रहेका छन् । त्यस्तै, वर्ष ३६ की जादुकाल सार्की, वर्ष २७ की कैसी सार्की रहेका छन् । सबै घाइतेलाई तत्कालै उद्धार गरी सुर्खेत पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।