चार वर्षीय बालकको दुवै मिर्गाैला फेल, उपचारमा सहयोग गर्न परिवारको अपिल

सोमबार, २३ कार्तिक, २०८३
डिजिटल संस्करण

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११, खार्मी निवासी पेसलकुमार मगर र दुर्गा आलेमगरका चार वर्षीय छोरा प्रिजल मगर ११ दिनदेखि कान्ति बाल अस्पताल काठमाडौंको आइसियू (सघन उपचार कक्ष)मा उपचाररत छन् । यही कातिक १२ गते सामान्य बान्ता गरेका प्रिजल एक्कासि सिकिस्त बिरामी बनेपछि उपचारका लागि कातिक १३ गते कान्ति बाल अस्पताल भर्ना गरिएको हो । 

भर्खर विद्यालय भर्ना गरेर कखरा सिक्दै गरेका प्रिजलको दुवै मिर्गाैला फेल (काम नलाग्ने) भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । अस्पताल भर्ना गरेको भोलिपल्टबाट आइसियूमा राखेर उपचार सुरु गरिएको छ । प्रिजलको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाबसमेत नगरेका प्रिजलको नेपालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजान आग्रह गरिएको उपचारमा संलग्न डा, विमला बानियाँले जानकारी दिइकी छिन् । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रँदै गएको प्रिजललाई कान्ति बाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गंगाराम अस्पताल लैजान सुझाव दिएको पीडित परिवारले बताएका छन् । 

भारत लगेर चाँडोभन्दा चाँडो उपचार नगराइए प्रिजलको ज्यानै तलमाथि हुने खतरा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएको बुवा पेसलकुमारले बताए। ‘आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले यहाँ ठिक हुँदैन भनेका छन् । बाहिर लगेर उपचार गर्ने खर्च हामीसँगै छैन,’ उनले भने, ‘भारतको अस्पतालमा उपचार गर्न रु. एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ? सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध छ ।’

जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवनरक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग संकलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले जानकारी दिए। ​​​

प्रिजल मगर बचाऔँ अभियानका सदस्यहरूले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्येक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अपिल गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावका लागि प्रिजलका बुवा पेसलकुमारको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. २२७०१००००३१९००१० मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

सुझावित समाचार