रेलले जोडिँदै नेपाल–भारतका दुई सांस्कृतिक सहर

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण
रेलले जोडिँदै नेपाल–भारतका दुई सांस्कृतिक सहर

भारतको अयोध्याबाट जनकपुरको कुर्था आइपुगेको रेल ।

  • अयोध्या–जनकपुरधाम रेलको परीक्षण, प्रधानमन्त्री शाहको भारत भ्रमणमा उद्घाटनको तयारी

जनकपुरधाम- नेपाल र भारतका दुई सांस्कृतिक सहर जनकपुरधाम र अयोध्या रेल यातायातसँग जोडिने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका वेला उद्घाटनको तयारी रहेको रेलको बिहीबार परीक्षण गरिएको छ । भारतीय रेलवेको डब्ल्युडिपी–४डी ४०३७० नम्बरको रेल अयोध्याबाट बिहीबार जनकपुरधामको कुर्था रेलवे स्टेसन पुगेको हो । ४६० किलोमिटर जनकपुरधाम–अयोध्या रेल रामायण सर्किटलाई जोड्ने लक्ष्यसहित अघि बढाइएको हो ।

नेपाल रेलवेका महाप्रबन्धक परिवेश पराजुलीले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको योजनाअनुसार प्रारम्भिक परीक्षण गरिएको बताए । उनका अनुसार सेवा सञ्चालनको मिति, व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे नेपाल तथा भारतबिच औपचारिक सम्झौता हुन बाँकी छ । सञ्चालनसम्बन्धी औपचारिक सहमति भएपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने विषयमा पनि छलफल भइरहेको पराजुलीले बताए । यद्यपि, यस विषयमा दुवै देशबिच औपचारिक निर्णय हुन बाँकी छ ।

प्रारम्भिक छलफलअनुसार यो रेल सातामा दुई दिन चल्नेछ । यात्रा अवधि करिब १३ घण्टाको हुनेछ । रेलको रुट जनकपुरधाम, जयनगर, मधुवनी हुँदै सीतामढी, गोरखपुर हुँदै अयोध्या पुगिन्छ । हाल नेपालले ३५ किलोमिटर जनकपुरधामको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन गर्दै आएको छ ।

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्नुअघि प्राविधिक अवस्था, सुरक्षा व्यवस्था र रेलमार्गको पूर्वाधार परीक्षण गर्न नेपाल र भारतका रेलवे तथा सुरक्षा निकायका अधिकारीले संयुक्त निरीक्षण गरेका हुन् । परीक्षण टोलीमा भारतीय रेलवेका उच्च अधिकारीदेखि नेपाली रेलवे र सुरक्षा निकायका प्रतिनिधिसम्म सहभागी थिए । पूर्वमध्य रेल हाजीपुर जोनका उपमहाप्रबन्धक अमरेन्द्र कुमार, मण्डल रेल प्रबन्धक ज्योतिप्रकाश मिश्र, रेलवे सुरक्षा बल हाजीपुरका प्रधान मुख्य सुरक्षा आयुक्त अमरेश कुमार, एसएसबीका कमान्डेन्ट सञ्जीवकुमार सिंह, नेपाल रेलवेका महाप्रबन्धक परिवेश पराजुलीलगायत अधिकारी परीक्षणमा सहभागी भएका थिए ।

जयनगरबाट सुरु भएको निरीक्षण टोलीले नेपालतर्फको वैदेही रेलवे स्टेसनमा समेत पुगेर स्थलगत परीक्षण गरेको थियो । टोलीले रेलमार्गको अवस्था, स्टेसनको पूर्वाधार र सुरक्षा व्यवस्थाबारे जानकारी लिएको थियो ।
प्रस्तावित योजनाअनुसार नेपालतर्फ जनकपुरधाम र जयनगरमा रेल स्टेसन रहने प्रारम्भिक खाका तयार गरिएको छ । सेवा सञ्चालनको तयारीस्वरूप जनकपुरधाम रेलवे स्टेसनको प्लेटफर्म स्तरोन्नतिको काम भइरहेको छ ।

अन्तर्राष्ट्रिय रेल सेवाअघि जनकपुर रेलवेको अवस्था सुधार्न माग
अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनको तयारी भइरहेका वेला जनकपुरधामस्थित नेपाल रेलवेको वर्तमान अवस्था सुधार्नुपर्ने मागसमेत उठेको छ । जनसरोकार अभियानले यात्रुले दैनिक भोग्दै आएका समस्या समाधान गर्न नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अभियानका पदाधिकारीले बुधबार रेलवे कम्पनीको जनकपुरधामस्थित कार्यालय पुगेर स्टेसन तथा प्लेटफर्मको सरसफाइ, यात्रु सुविधाको व्यवस्थापन, भौतिक संरचनाको मर्मतसम्भार र रेलवे सेवाको विस्तारलगायत विषयमा तत्काल सुधार गर्न माग गरेका हुन् ।

अभियानका संयोजक जितेन्द्र महासेठले जनकपुरधाम धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अन्तर्राष्ट्रिय पहिचानको सहर भएकाले यहाँको रेलवे सेवा पनि सोहीअनुसार व्यवस्थित र सुविधासम्पन्न हुनुपर्ने बताए । उनले जनकपुरधाम माता जानकीको जन्मभूमि तथा भगवान् राम र सीताको विवाहस्थलका रूपमा विश्वभर परिचित रहेको उल्लेख गर्दै भारतबाट आउने धार्मिक पर्यटक तथा तीर्थयात्रीका लागि रेलवे स्टेसन पहिलो प्रवेशद्वार हुने भएकाले यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

धार्मिक पर्यटनमा टेवा पुग्ने अपेक्षा
जनकपुरधाम–अयोध्या रेल यातायात सञ्चालनमा आए  धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका सुरेन्द्र भण्डारीले होटेल, पर्यटनका अन्य व्यवसायमा सहयोग पुग्ने बताए । 
‘जनकपुरधाम धार्मिक पर्यटकीय सहर हो । अयोध्या पनि धार्मिक सहर हो । परापूर्वकालमा यी दुवै धार्मिक स्थलबिच धार्मिक सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ,’ उनले भने, ‘यी दुवै सहरबिच रेल सेवा सुरु भएको खण्डमा दुई देशबिचको सम्बन्ध प्रगाढ हुनुको साथै धार्मिक पर्यटन तथा व्यापार व्यवसायमा टेवा पुग्छ । यहाँका होटेल, पर्यटनको अन्य व्यवसायमा सहयोग पुग्छ ।’  

नेपाल रेलवेका महाप्रबन्धक परिवेश पराजुली भन्छन्–
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको योजनाअनुसार प्रारम्भिक परीक्षण गरिएको छ । रेल सेवा सञ्चालनको मिति, व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे नेपाल तथा भारतबिच औपचारिक सम्झौता हुन बाँकी छ । औपचारिक सहमति भएपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने विषयमा पनि छलफल भइरहेको छ । 

सुझावित समाचार