अनलाइन ठगीमा परे १२४७ मा फोन गर्नुस्

२४सै घण्टा सेवा दिन ३६ कर्मचारी खटिने गरी सञ्चालनमा आयो एन्टि–स्क्याम सेन्टर

शनिबार, २१ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- सरकारले अनलाइन ठगीका घटना सम्बोधन गर्न सामाखुसीस्थित साइबर ब्युरोको नयाँ भवनमा हटलाइनसहितको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको छ । प्रहरीको साइबर ब्युरोमा रहने केन्द्रमा अनुसन्धानसँग सरोकार राख्ने निकायका प्रतिनिधि सातै दिन २४ घण्टा खटिनेछन् ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको उपस्थितिमा केन्द्रले शुक्रबारदेखि काम थालेको छ । केन्द्रमा नेपाल राष्ट्र बैंक, दूरसञ्चार प्राधिकरण तथा मोबाइल वालेट कम्पनीका प्रतितिधि २४सै घण्टा रहनेछन् । अनलाइन ठगीमार्फत हुने आर्थिक कारोबारलाई तत्काल रोक्ने उद्देश्यले यस्तो सेन्टर स्थापना गरिएको हो ।

अनलाइन ठगी तथा ह्याकिङमा परेमा तत्काल १२४७ मा फोन गर्न प्रहरीले अनुरोध गरेको छ । स्क्याम प्रतिकार्य केन्द्र तत्कालै खाता रोक्का गर्नेदेखि ठगी गर्ने व्यक्ति पहिचान गर्न सहज हुने साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ब्युरोमा मात्र दैनिक औसतमा ६० वटा साइबर ठगीसम्बन्धी उजुरी पर्ने गरेका छन् । उजुरीउपर अनुसन्धान गरी बैंक खाता रोक्का लर्ने प्रक्रिया अघि बढाउँदा त्यस्तो रकम निकालिसकेको हुने भएकाले तत्काल रोक्का राख्ने उद्देश्य छ ।

ठगीमा संलग्नको तत्काल पहिचानका लागि दूरसञ्चारप्रदायकदेखि इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधि राखिएको छ । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनअनुसार यस्तो केन्द्र स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ । सामुदायिक उत्तरदायित्व र जवाफदेहिता वृद्धि गराई साइबर स्क्याम रोकथाम र अनुसन्धानमा प्रभावकारिता ल्याउने केन्द्रको मुख्य उद्देश्य छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा केन्द्रको निर्देशक समितिसमेत रहनेछ ।

जसमा अर्थ मन्त्रालयका सहसचिव, गृहकै कानुन महाशाखाका सहसचिव, सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, महान्यायाधिवक्ता कार्यालका सहन्यायाधिवक्ता, राष्ट्र बैंकको भुक्तानी विभागका निर्देशक, राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका प्रमुख, दूरसञ्चार प्राधिकरणका निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, इन्टरनेटप्रदायक संघका अध्यक्ष सदस्य रहने तथा गृहकै शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव सदस्यसचिव रहनेछन् ।

सञ्चालन समन्वय समिति भने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशकको नेतृत्वमा बनाइएको छ । केन्द्रमा एक सिफ्टमा ३६ तथा कुल ११४ जना रहनेछन् । 

सुझावित समाचार