कांग्रेस क्षेत्रीय अधिवेशन सुरु, १३ असोजसम्म सक्नुपर्ने

१५औँ महाधिवेशन व्यवस्थापन गर्न १५ समिति गठन, देउवा समूह पनि छुट्टै महाधिवेशनको तयारीमा

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सुरु भएको छ । निर्वाचन समितिका अनुसार अधिकांश क्षेत्रमा शनिबार अधिवेशन सुरु भएको हो । शनिबार एकैदिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन वर्षाका कारण मंगलबारको समय दिइएको छ । निर्वाचन समितिका अनुसार विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका निर्वाचन क्षेत्रमा शनिबार अधिवेशन हुन सकेको छैन । 

तोकिएको समयमा क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए । ‘प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा सम्पन्न भइसकेको छ । संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुमपूर्व, रोल्पा, रुकुम–पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा उद्घाटन सत्रको सुरुवात भई निर्वाचन प्रक्रिया अघि बढेको छ,’ कटुवालले भने ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् । पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । कांग्रेस विधानअनुसार पदेन सदस्यलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने हुँदैन ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एकजना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुईजना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एकजना रहने व्यवस्था छ । यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन । 

कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ । १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन–तीनजनाका दरले क्षेत्र ‘क’ र ‘ख’बाट कुल ६ जना निर्वाचित हुनेछन् । खुलातर्फबाट एक महिलासहित चारजना, युवामध्येबाट एक महिलासहित दुईजना, जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ ।

केन्द्रीय निर्देशन समिति संयोजकमा गगन थापा
कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ समिति गठन गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूह छाडेर सानेपा गएका नेतालाई पनि समितिमा समेटिएको छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले बताए । ‘विभिन्न समितिसँग समन्वय र सहजीकरण गर्न, महाधिवेशन प्रक्रियालाई व्यवस्थित गर्न, महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित विषयमा तत्काल कुनै निर्णय गर्नुपरेमा त्यसको संयोजन गर्न तथा सबै समितिले कार्य विवरणअनुसार ठिक ढंगले काम भए–नभएको सुनिश्चित गरी महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएका हुन्,’ चालिसेले भने ।

सभापति गगन थापाको संयोजकत्वमा गठित निर्देशन समितिको सदस्यमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ छन् । यस्तै, केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय डिना, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल, सपना राजभण्डारी छन् । सभापति थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्यसचिव छन् ।

शशांकले भने– नयाँ जोसका साथ जाँदै छौँ

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूह पनि १५औँ महाधिवेशको तयारीमा जुटेको छ । सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेकाले देउवा समूहले पनि कांग्रेसकै ब्यानरमा १५औँ महाधिवेशन गर्दै छ । देउवा समूहका नेता डा. शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशनले भविष्यको बाटो देखाउने दाबी गरे । 

१५औँ महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कार्यक्रममा कोइरालाले आफूहरू सबैलाई साथमा लिएर हिँड्न चाहेको बताए । ‘यो हाम्रो लागि एउटा परीक्षाको समय पनि हो । अधिवेशनले भविष्यको बाटो देखाउँछ । त्यसैले, यो अधिवेशन अत्यन्त महŒवपूर्ण हो । यसलाई अत्यन्त गम्भीरतापूर्वक सोचेर हामी बढेका छौँ,’ उनले भने, ‘कांग्रेस भनेको एउटा बलियो विचार भएको पार्टी हो, पुरानो पार्टी हो । पुरानो तर त्यसमा नयाँ जोसका साथ हामी जाँदै छौँ । एकताले नै शक्ति दिन्छ अगाडि बढ्नका लागि ।’

महाधिवेशनका लागि आगामी १५ असोजसम्म क्रियाशील सदस्यता लिन सकिने नेता प्रकाशशरण महतले बताए । उनका अनुसार नवीकरण भएका र नयाँ क्रियाशील सदस्यको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ । छुटेका व्यक्तिले १५ असोजसम्म क्रियाशील सदस्यता प्राप्त गर्न सक्नेछन् । ‘१५औँ महाधिवेशन आउँदो २१, २२ र २३ मंसिरमा गर्दै छौँ । त्यसअघि १५ असोजबाट वडा अधिवेशन सुरु हुन्छ,’ उनले भने ।

सुझावित समाचार