वर्षाले हेटौँडा–काठमाडौंका अधिकांश सडक अवरुद्ध, त्रिभुवन राजपथ मात्रै सञ्चालनमा

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

लगातारको वर्षापछि पहिरो, लेदो र सडक भासिने क्रम बढेसँगै हेटौँडा–काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् । कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा विभिन्न स्थानमा अवरोध भएको छ भने काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ७ बजेसम्मको सडक अवस्थाअनुसार कान्ति लोकपथको मकवानपुर खण्ड खुला रहे पनि ललितपुरतर्फ दुई स्थानमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । फाखेल सडकमा सडक भासिएको छ भने सिस्नेरी सडक तीन स्थानमा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ ।

पृथ्वी राजमार्गमा समेत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेको छ। चितवन र धादिङ प्रशासनले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी सञ्चालन रोक्ने सूचना जारी गरेको प्राप्त विवरणमा उल्लेख छ ।

कान्ति लोकपथको मकवानपुर क्षेत्रको सडक भने आइतबार बिहानसम्म खुला छ । तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे र टाँकुरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

मकवानपुरतर्फ सडक खुला भए पनि ललितपुर खण्डको अवरोध नहटेसम्म यो मार्गबाट हेटौँडा–काठमाडौं सीधा आवतजावत सम्भव छैन ।

फाखेल सडक भासियो, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएको छ ।

सडक एकतर्फी रूपमा अवरुद्ध भएको भए पनि बाँकी भागबाट सवारी सञ्चालन गर्नु समेत जोखिमपूर्ण रहेको भन्दै चालकलाई वैकल्पिक सडक प्रयोग गर्न जानकारी गराइएको छ ।

उक्त क्षेत्र हुँदै यात्रा गर्ने सवारीलाई सिस्नेरी वा खानीखेततर्फको वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। तर, सिस्नेरी मार्ग पनि आइतबार बिहान विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध छ।

हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकखण्ड तीन स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–२ ज्यालटार, वडा नम्बर ६ को जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ।

तीनै स्थानमा पहिरोले सडक दुवैतर्फ बन्द भएको छ । अवरोध हटाउन जेसीबी घटनास्थलमा पुगेर काम सुरु गरिसकेको जनाइएको छ । लगातार वर्षा भइरहेको अवस्थामा माथिबाट थप पहिरो खस्ने जोखिम रहेकाले सडक खुलाउने काममा समेत सावधानी अपनाइएको छ।

पूर्व–पश्चिम राजमार्ग नेवारपानीमा एकतर्फी
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानीको रजैया नजिक सडक माथिबाट पहिरो र ढुंगा खसेको छ । पहिरोपछि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। अवरोध हटाउन जेसीबी परिचालन गरिएको छ। सडक पूर्ण रूपमा खुलाउने काम भइरहेको जनाइएको छ । त्रिभुवन राजपथ भने आइतबार बिहानसम्म सञ्चालनमा रहेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक तथा ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ । चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयबाट अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन रोकिएको जानकारी प्राप्त भएको छ। असोज १० गतेदेखि पोखरातर्फ जाने सवारीलाई भने चितवनतर्फ जान दिइएको छ।

सुझावित समाचार