अविरल वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगरदेखि काठमाडौंसहित लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। शुक्रबारदेखि कञ्चनपुरसहित देशभर वर्षा भएपछि महेन्द्रनगरदेखि लामो दूरीमा सञ्चालन हुने सवारीसाधन–बस सेवा रोकिएको हो।
शनिबार बिहानैदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरू, काठमाडौं, विराटनगर, पोखरालगायत लामो दूरीमा सञ्चालन हुने बस सेवा स्थगित गरिएको सार्वजनिक यातायात व्यवसायी समितिले जनाएको छ। सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष महेशराज बोहराले प्रतिकूल मौसमका कारण लामो दूरीमा सञ्चालन हुने यातायात सेवा रोकिएको बताए।
‘सुदूरका पहाडी जिल्लादेखि अन्य क्षेत्रमा अविरल वर्षात्ले बाढी, पहिरो, डुबान र कटानका कारण सडक अवरुद्ध भएका खबर आइरहेका छन्,’ उनले भने, ‘यात्रु सुरक्षाका लागि हामीले पनि एक–दुई दिन लामो दूरीमा सञ्चालन हुने बस चलाएका छैनौँ।’
स्थानीय रुटमा भने यातायात सेवा सञ्चालन भइरहेको उनले बताए। लामो दूरीमा यातायात सेवा सञ्चालन हुन नसक्दा यात्रुहरूलाई असुविधा भएको छ। बझाङको खाँडाबाट सुरु भएको अविरल मनसुनको प्रभाव कञ्चनपुरसहित सुदूरपश्चिममा देखिएको छ। वर्षाका कारण यातायात सेवासँगै किसानसमेत प्रभावित भएका छन्। पाक्न लागेको धान भित्र्याउन नपाउँदै खेतमै ढल्न थालेपछि किसान मर्कामा परेका छन्।
कञ्चनपुरमा पछिल्लो समय झिमझिमे वर्षा भइरहेको भए पनि जनजीवन प्रभावित भएको छ। उच्च जोखिम रहेका स्थानबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ।