नेपाली कांग्रेस सिन्धुपाल्चोकले वडा र पालिका अधिवेशन सम्पन्न गर्दै क्षेत्रीय अधिवेशनको तयारी पूरा गरेको छ। १० असोजका लागि तय गरिएको क्षेत्रीय अधिवेशन लगातारको वर्षाका कारण १२ असोजका लागि सारिएको छ।
अधिवेशनअघि बाह्रबिसे नगरपालिकाका मेयरसमेत रहेका बालकृष्ण बस्नेतलाई क्षेत्रीय सभापतिबाट हटाएर देवेन्द्र खड्कालाई १ नम्बर क्षेत्रको कार्यवाहक सभापति तोकिएको छ। २ नम्बर क्षेत्रको सभापतिमा भने मेलम्ची नगरपालिकाका मेयरसमेत रहेका आइतमान तामाङ कायम छन्।
बस्नेत देउवा समूहका भएकाले उनलाई पदबाट हटाइएको बताइएको छ। यद्यपि, इतर समूहले भने बस्नेतलाई नै समर्थन गर्दै आएको छ। संस्थापन कांग्रेसले धमाधम अधिवेशन सम्पन्न गरेपछि इतर समूह पनि १५ असोजबाट वडा, पालिका हुँदै क्षेत्रीय अधिवेशनको तयारीमा जुटेको छ।
‘हामी पछि हट्दैनौँ। इतर समूहमा खास कांग्रेसको वर्चस्व छ,’ बस्नेतले भने। इतर समूहमा देउवा समूहका प्रभावशाली नेता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत रहेकाले समूह कमजोर नरहेको नेताहरूको दाबी छ।
संस्थापन कांग्रेसले ३ असोजमा जिल्लाका १०३ वटै वडामा अधिवेशन सम्पन्न गरेको थियो। त्यसैगरी, ७ असोजमा १२ मध्ये ११ पालिकाको अधिवेशन सम्पन्न भएको छ। भोटेकोशी गाउँपालिकामा बाढीपीडित मृतक परिवारले घेवा आयोजना गरेकाले त्यस दिन अधिवेशन रोकिएको थियो।
७ असोजमा भएको अधिवेशनबाट बाह्रबिसे नगरपालिकामा नवीन श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिकामा लालबहादुर श्रेष्ठ, लिसंखुपाखर गाउँपालिकामा सुमन बम्जन र सुनकोशी गाउँपालिकामा कुमार शाही सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै, बलेफीमा रामकुमार तामाङ, जुगलमा बमबहादुर श्रेष्ठ (सानु सगुन), चौतारा साँगाचोकगढी नगरपालिकामा निर्मल श्रेष्ठ, इन्द्रावतीमा क्षेत्रबहादुर तामाङ, मेलम्ची नगरपालिकामा अमृत खनाल, हेलम्बुमा फुर्वा लामा र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सूर्यबहादुर अधिकारी सभापतिमा निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधि युधीर पौडेलका अनुसार अधिकांश नेता-कार्यकर्ता संस्थापन कांग्रेसमा समाहित भएका छन्। बाँकी नेता-कार्यकर्तालाई पनि समेटेर अघि बढ्ने प्रयास भइरहेको उनले बताए।