पहिरोले सल्यान प्रवेश गर्ने तीन मुख्य सडक अवरुद्ध, सडक सञ्जाल विच्छेद

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

लगातारको वर्षापछि गएको पहिरोका कारण सल्यान प्रवेश गर्ने तीनवटा मुख्य सडक अवरुद्ध भएका छन्। राप्ती राजमार्ग, लुहाम–कालिमाटी सडक र खलंगा–बालुवा–सुर्खेत सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार राप्ती राजमार्गअन्तर्गत श्रीनगर–कपुरकोट सडकखण्डको कपुरकोट गाउँपालिका–५ स्थित खारखोला, सल्यान–सुर्खेत सडकखण्डअन्तर्गत बनगाड कुपिन्डे नगरपालिका–८ स्थित र्याले र लुहाम–कालीमाटी सडकखण्डअन्तर्गत त्रिवेणी गाउँपालिका–३ स्थित ढुंगेबगरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। लगातारको वर्षा र पहिरो ठुलो भएकाले राप्ती राजमार्ग सञ्चालनमा ल्याउन केही समय लाग्ने उनले बताए।

सडक स्तरोन्नतिको काम भइरहेको अरिंगालेपेदी क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो जाने र लेदोमाटो बग्ने समस्या रहेको प्रहरीले जनाएको छ। यसका कारण उक्त सडकमा आवतजावत गर्ने यात्रुले नियमित रूपमा सास्ती खेप्दै आएका छन्।

लगातार वर्षा भइरहेकाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको भए पनि ढुंगा, माटो तथा पहिरो खस्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। दिउँसोको समयमा यात्रा गर्ने सवारीचालकलाई समेत उच्च सतर्कता अपनाउन प्रहरी निरीक्षक भट्टराईले आग्रह गरेका छन्। 

उनले अत्यावश्यक कामबाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानमै बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्। 

सुझावित समाचार