लगातारको वर्षाका कारण विद्यालयको गेट र पर्खाल भत्कियो, खोला–नदीको सतह बढ्यो

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

लगातारको वर्षापछि गएको पहिरोका कारण कास्कीको एक विद्यालयको गेट र पर्खाल भत्किएको छ भने खोला तथा नदीको सतहसमेत बढेको छ।

वर्षाका कारण पहिरो जाँदा कास्कीको अन्नपूर्ण गाउँपालिका– ३, पुरानो मैदानस्थित लक्ष्मी आधारभूत विद्यालयको गेट र पर्खाल भत्किएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

पहिरोले विद्यालयको गेट र पर्खाल भत्किएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भदौरे नौडाँडाबाट प्रहरी सहायक निरीक्षक महेन्द्र सिंहको कमान्डमा दुईजना प्रहरीको टोली खटिएको बरालले बताए।

वर्षाका कारण कास्कीको रूपा गाउँपालिका– ३, खाल्टे खोला हुँदै पोल्याङ–देउरालीबाट पोखरा जाने भित्री पक्की सडकखण्डसमेत बन्द भएको छ। खाल्टे खोलामा पानीको बहाब बढेर सतह सडकसम्म आएपछि सडक अवरुद्ध भएको बरालले जानकारी दिए।

बाटो बन्द भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पोल्याङबाट प्रहरी सहायक हवल्दार शिवनारायण चौधरीको कमान्डमा दुईजनाको टोली खटिएको थियो। बाटो बन्द भएपछि वैकल्पिक बाटो पोखरा–तालबेँसी–भोर्लेटार हुँदै दमौलीबाट सवारीसाधन सञ्चालन गरिएको थियो।

लगातारको वर्षापछि सेती नदीमा पानीको बहाब बढेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले याम्दी, रामघाटलगायतका स्थानमा पुगेर पानीको बहाब तथा स्थानीयवासीको अवस्थाबारे स्थलगत अनुगमन गरेका थिए।

वर्षाका कारण कास्कीको लाहाचोकस्थित मर्दीखोलाको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्र तथा नदीआसपास डुबान भइरहने स्थानका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

सहायक प्रजिअ बरालले वर्षा लगातार भइरहेकाले र केही दिनसम्म रहने प्रक्षेपण गरिएकाले सतर्क रहन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सबैलाई आग्रह गरिएको बताए।

सुझावित समाचार