वर्षाले बढायो बाढीपहिरोको जोखिम

आज र भोलि देशका धेरैजसो ठाउँमा भीषण वर्षाको आकलन, सतर्कता अपनाउन सरकारको अपिल

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

बुधबारबाट लगातार भइरहेको वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको जोखिम बढेको छ । शुक्रबार र शनिबार अझ बढी वर्षा हुने भएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । न्यूनचापीय क्षेत्रले ल्याएको जलवाष्पयुक्त हावा, मनसुनी प्रणाली र पश्चिमी वायु एकसाथ सक्रिय बनेपछि कोशी प्रदेशबाट सुरु भई बिहीबार देशभर वर्षा भएको छ । २४ घण्टामा बिहीबार सबैभन्दा बढी पाल्पाको बल्ड्याङगढीमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै, अर्घाखाँचीको सिमलपानीमा १५०, कपिलवस्तुको भगवानपुरमा १४५, मैनारमा १३८ र रंगाईमा ८६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् डेविड ढकालका अनुसार न्यूनचापीय क्षेत्र बंगालको खाडी हुँदै बुधबार राति भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसाआसपास जमिनमा प्रवेश गरेपछि नेपालमा वर्षाका गतिविधि अझ बढेका हुन् । वर्षाका गतिविधि  सुरुवाती चरणमा देशको पूर्वी तथा मध्य भागमा बढी प्रभाव देखिए पनि शनिबारसम्म वर्षा मध्य र पश्चिमतर्फ केन्द्रित हुने मौसमविद्हरूको आकलन छ । मौसमविद् ढकालका अनुसार शनिबार वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको छ । ‘शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनासमेत छ,’ उनले भने, ‘आइतबार केही कम हुने र सोमबारबाट मौसममा सुधार आउने देखिन्छ ।’

भूगर्भविद् डा. सुबोध ढकालले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको बताए । ‘पानी अत्यधिक नपरे पनि निरन्तर परिरहेको छ । यसले माटो गलाउने, यसअघि पहिरो गएको ठाउँमा फेरि पहिरो जान मद्दत गर्छ । पहाडी क्षेत्रमा नदीको कटान र नदीमा पहिरो खस्ने जोखिम रहन्छ,’ उनले भने, ‘तराईमा डुबान र बाढीको जोखिम बढेको छ ।’ वर्षा बढेसँगै स्थानीय प्रशासनले ठुला राजमार्गमा रात्रिकालीन गाडी चलाउन रोक लगाइसकेका छन् । ‘बस्तीमा निगरानी र सूचना प्रवाह गर्नुपर्ने देखिन्छ,’ ढकालले भने, ‘राति गाडी नचलाउनु राम्रो हो । वर्षा ठुलो भएर जोखिम बढ्यो भने सरकारले तत्काल सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गर्ने र समयमै निर्णय गर्नुपर्छ ।’

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले जोखिमको अवस्थाबारे ७७ वटै जिल्ला प्रशासनलाई जानकारी गराइसकिएको बताए । ‘आवश्यकता हेरेर जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय लिइरहेका छन् । हामीले सूचना प्रवाहमा जोड दिएका छौँ,’ उनले भने ।

राति गाडी चलाउन रोक
बाढीपहिरोको जोखिम बढेपछि ठुला राजमार्ग तथा सडकमा राति गाडी चलाउन रोक लगाइएको छ । सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समितिले जोखिमको अवस्थालाई मध्यनजर गरी रातिको समयमा गाडी चलाउन रोक लगाएका हुन् । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग, चितवनले नारायणगढ–मुग्लिन सडकमा राति गाडी नचलाउन भनेका छन् । मकवापनुरले कान्ति लोकपथ र भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्डमा बिहान ५ बाट साँझ ५ बजेसम्म मात्र गाडी चलाउन भनेको छ । त्यस्तै, काभ्रेले बिपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा बुधबारदेखि नै राति गाडी चलाउन रोक लगाउँदै आएको छ । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा राति गाडी नचलाउन भनेको छ । सवारीसाधन तथा पैदलयात्रीको सुरक्षालाई दृष्टिगत गरी जोखिमयुक्त सिद्धिचरण लोकमार्ग–सोलुखुम्बु, टोखा–छहरे सडकखण्ड, राप्ती राजमार्गका विभिन्न स्थान, मदन भण्डारी राजमार्गलगायतका राजमार्ग एवं सडकखण्डमा अत्यावश्यकबाहेक रात्रिकालीन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।

१० हजार प्रहरी तयारी अवस्थामा 
शुक्रबारदेखि भारी वर्षाको आकलनसँगै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । नेपाल प्रहरीले तत्काल परिचालन हुन सक्ने गरी १० हजार ८५ जनशक्ति तयारी अवस्थामा राखेको छ । प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकीस्तरसम्मका प्रहरी इकाइसमेत आवश्यक उपकरणसहित तत्काल परिचालित हुन सक्ने गरी जनशक्ति तयारी अवस्थामा राखिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए ।

नेपाल प्रहरी विपत् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीबाट एक प्लाटुन, लुम्बिनी प्रदेश र एक प्लाटुन गण्डकी प्रदेशका लागि आवश्यक विपत् उद्धारका उपकरण र ड्रोनसहितको प्रहरी जनशक्ति परिचालन गरिएको छ । विपत् प्रतिकार्य तथा तालिम केन्द्र र सातवटै प्रदेश प्रहरी विपत् व्यवस्थापन गुल्महरूमा पाँच सयजना तयारीमा अवस्थामा राखिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण, सातवटै प्रदेश प्रहरी गण, उपत्यका प्रहरी विशेष सुरक्षा गण, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ बाटसमेत गरी जम्मा दुई हजार १२५ जनाको प्रहरी जनशक्ति आवश्यकताअनुसार तत्काल वा चरणबद्ध रूपमा परिचालन गर्न सक्ने गरी २४ सै घण्टा स्ट्यान्डबाई अवस्थामा रहेको प्रवक्ता काफ्लेले बताए ।

मधेश र सुदूरपश्चिममा ‘रेड अलर्ट’
भारी वर्षाको चेतावनीसँगै बाढी, डुबान र नदी कटानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा तथा विपत् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ । सम्भावित विपत्पछि उद्धारका लागि पर्खिनुभन्दा जोखिमयुक्त क्षेत्रको पहिचान, जनशक्ति परिचालन र आवश्यक सामग्री पूर्वतयारीमा राख्ने रणनीति अपनाइएको हो ।

सुदूरपश्चिममा सम्भावित विपत्लाई ध्यानमा राखेर सरोकारवाला संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । बाढी, पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ । विपत्का वेला खटिनका लागि नेपाली सेनाको हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ ।

कुलेखानी जलाशयमा निगरानी बढाइँदै 
९ देखि ११ असोजसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानसँगै मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सम्भावित जोखिमलाई केन्द्रमा राखेर सुरक्षा सतर्कता बढाइएको छ । लगातार वर्षा भए जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले पानीको अवस्था निगरानी गर्ने र आवश्यक परे सुरक्षित ढंगले व्यवस्थापन गर्ने पूर्वतयारी थालेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि जिल्लाका सुरक्षा निकायसहित जोखिमयुक्त क्षेत्रमा कार्यरत निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ । वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर तयारी अघि बढाइएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । भारी वर्षाको पूर्वानुमानपछि कुलेखानी जलाशयको सुरक्षालाई लिएर सतर्कता बढाइए पनि तत्काल ड्यामको ढोका खोल्नुपर्ने अवस्था नरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।

शुक्रबार र शनिबार कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

आज दिउँसो : तराई र पहाडमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको हुन सक्ने देखिन्छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अतिभारी वर्षाको सम्भावना छ । मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीसमेत
चल्न सक्छ । 

आज राति : वर्षाको प्रणाली मध्य र पश्चिमतिर सिफ्ट हुने देखिन्छ । देशभर वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको आकलन छ । मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

भोलि दिउँसो : देशभरका पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपत हुनेछ । लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका अधिकांश स्थान, मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

भोलि राति : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनेछ । कोशीका हिमाली र पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमपातको आकलन छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेश तथा कोशीका तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा बागमतीका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

सुझावित समाचार