प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।
अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जल तथा मौसम विज्ञान विभागले उक्त अवधिमा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरी हुन सक्ने पूर्वानुमान गरेको जानकारी दिएका हुन्।
सम्भावित विपतलाई मध्यनजर गर्दै सरकारले आवश्यक पूर्वतयारी तीव्र बनाएको उनले बताएका छन्। उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ भने जिल्ला सुरक्षा समितिमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ।
नदी तथा खोलाको तटीय क्षेत्रमा सुरक्षा निकायमार्फत माइकिङ गरी स्थानीयलाई सचेत गराउने काम भइरहेको र विपत् प्रतिकार्यका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन नागरिकलाई आग्रह गरेका छन्। राजमार्गका सुरक्षा जाँच चौकीबिच समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारीसाधन अघि बढाउने गरी ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको उनले जानकारी दिएका छन्।
सम्भावित बाढी, पहिरो र नदीकटानका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै जोखिमयुक्त सडकखण्ड नजिक एक्स्काभेटर, लोडर र डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालयलाई २४ घण्टा सक्रिय रहन तथा सडकको अवस्थाबारे नियमित जानकारी सार्वजनिक गर्न निर्देशन दिइएको उनले बताएका छन्।
त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा ट्रेकिङ र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित व्यवसायीसँग समन्वय गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाहका अनुसार देशभरका ७५३ स्थानीय तहलाई स्थानीय विपत् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ।