उत्तर अन्डमन सागरमा विकसित भई बंगालको खाडी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज (बिहीबार)देखि वर्षा बढ्ने देखिएको छ । नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ्ने र शुक्रबारबाट तीन दिन देशभर वर्षा हुने आकलन रहेको बताए ।
‘बिहीबारभन्दा शुक्रबार धेरै ठाउँमा पानी पर्ने देखिन्छ । विशेषगरी बागमतीदेखि पश्चिमका क्षेत्रमा अलि बढी पानी पर्नेछ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘छिनछिनमा परिवर्तन भइरहेकाले कहाँ कति पानी पर्छ भनेर भनिहाल्ने अवस्था छैन । ठुलो पानी पर्छ भनेर त्रासमा रहनेभन्दा पनि सतर्कता अपनाउनुपर्छ ।’ विभागले उच्च पहाडी र हिमाली १६ जिल्लामा भने ठुलो हिमपात हुने भन्दै रेड अलर्ट जारी गरिसकेको छ । जसमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बाजुरा, बझाङ र दार्चुला छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आइतबारसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न, राति यात्रा नगर्न, ट्रेकिङ तथा पर्वतारोहणमा नजान आग्रह गरेको छ । प्राधिकरणको मनसुन प्रतिकार्य कमान्डको बैठक बुधबार बसेको थियो । गृहसचिव केदारनाथ शर्मा उपस्थित बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल जोडिएका थिए । बैठकले मौसम विज्ञान विभाग र सम्बन्धित निकायबाट अपडेट लिएर आवश्यक कदम चाल्ने र हालका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । ‘हामीले गाडी रोक्न भनिसकेका छैनौँ । तर, ठुलो पानी पर्ने भयो र जोखिम बढ्यो भने जुनसुकै वेला निर्णय हुन्छ,’ उनले भनिन्, ‘अहिलेलाई अवस्था हरेर जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गर्न सक्छन् । हामीले राति यात्रा नगर्न र लामो दूरीमा नजाने, हिमालतिर यात्रा नगर्न अनुरोध गरेका छौँ ।’
प्राधिकरणले बुधबार मात्र विज्ञप्ति जारी गरेर उच्च उचाइ र हिमाली क्षेत्रमा रहेका यात्रु, ट्रेकर र व्यक्तिलाई सुरक्षित स्थानमा फर्कन र मौसमको अवस्थामा सुधार नआएसम्म अनावश्यक यात्रामा नजान अनुरोध गरिसकेको छ । त्यस्तै, बाढीको जोखिम रहेका नदी र नदी बेसिननजिक यात्रा गर्दा सतर्क रहन, यात्रा गर्दा सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको स्थितिबारे जानकारी लिन भनेको छ ।
शान्ति महत, प्रवक्ता राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
हामीले गाडी रोक्न भनिसकेका छैनौँ । तर, ठुलो पानी पर्ने भयो र जोखिम बढ्यो भने जुनसुकै वेला निर्णय हुन्छ । अहिलेलाई अवस्था हेरेर जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गर्न सक्छन् । हामीले राति यात्रा नगर्न र लामो दूरीमा नजान र हिमालतिर यात्रा नगर्न अनुरोध गरेका छौँ ।
जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न गृहको निर्देशन
भारी वर्षापछि बाढीपहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले ७७ जिल्लालाई नै निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्लालाई परिपत्र गरी नियमित रूपमा मौसमको अपडेट गरी त्यहीअनुसार सर्वसाधारणलाई सुसूचित गराई काम गर्न भनेको हो ।
बिपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक
दुई वर्षअघिको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा बिहीबारदेखि चार दिन राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढीपहिरोको जोखिमलाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो ।
अवस्था बुझेर मात्र गाडी चलाउन यातायात महासंघको अपिल
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक र मौसमको अवस्था बुझेर मात्र सवारीसाधन चलाउन सवारीचालक र व्यवसायीलाई अपिल गरेको छ । त्यस्तै, आइतबारसम्म अत्यन्त जरुरी नभई लामो दूरी र रातिको समयमा यात्रा नगर्न पनि अनुरोध गरेको छ ।
अवस्था हेरेर आज र भोलि विद्यालय बिदा गरिने
सरकारले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार दुई दिन विद्यालय बिदा गर्न आग्रह गरेको छ । त्यस्तै, सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई शुक्रबारदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न भनेको छ । सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्न भनिएको छ ।
कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले लिए जानकारी
कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले विपत् पूर्वतयारीको विषयमा जानकारी लिएका छन् । बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी गराएकी छिन् । त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपत् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधारलगायत क्षेत्रसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले जानकारी गराएका छन् ।