इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले संयुक्त राज्य अमेरिकासँगको द्वन्द्व अन्त्य गर्न तेहरानका पछिल्ला सर्तहरू सार्वजनिक गरेका छन् । रेजाईले कतारी मध्यस्थकर्ताहरूमार्फत तेहरानले आफ्ना सर्तहरू अमेरिकालाई जानकारी गराएको बताए । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण सुरु भएदेखि विभिन्न चरणमा युद्ध अन्त्य गर्ने प्रयास भए पनि सफल हुन सकेको छैन । पूर्णस्तरको लडाइँ केही महिनादेखि रोकिएको भए पनि दुवै पक्ष शान्ति स्थापनाको उद्देश्यमा भने सफल हुन सकेका छैनन् ।
अमेरिका र इरानबिच १७ जुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो, जसको म्याद गत महिना समाप्त भयो । त्यसयता दुवै पक्षले एक–अर्कामाथि आक्रमण बढाएका छन् । पूर्णस्तरको युद्धबाट बचेको भए पनि स्ट्रेट अफ हर्मुज र त्यसको आसपासको क्षेत्रमा छिटपुट आक्रमण भइरहेको छ । इरानले यो जलमार्गबाट हुने आवागमनलाई व्यावहारिक रूपमा बन्द गरेको छ भने अमेरिकाले इरानका दक्षिणी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ । हर्मुज भएर जाने प्रयास गर्ने तेल ट्यांकरहरूमाथि बढ्दो आक्रमण र साउदी अरबले हर्मुज बाइपास गरेर तेल निर्यातका लागि प्रयोग गर्दै आएको लालसागरको मार्गमा इराननजिक समूह हुथीको नियन्त्रण कामय भएपछि पछिल्लो समय कच्चा तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको छ ।
इरानले राखेका सर्त
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अलजजिरालाई बताएका इरानी सर्तहरू यसप्रकार छन् :
१. लेबनानलगायत सबै मोर्चामा युद्धको अन्त्य गर्नुपर्ने ।
२. पश्चिमी बैंकमा फ्रिज गरिएको अर्बौँ अमेरिकी डलरबराबरको इरानी रकम फुकुवा गर्नुपर्ने ।
३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य हुनुपर्ने ।
४. इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको
अन्त्य हुनुपर्ने ।
५. ‘इरानी क्रान्तिका विरोधीहरू’सँगको अमेरिकी सहकार्य अन्त्य हुनुपर्ने ।
६. इरानी भूभागमा हुने सबै अमेरिकी आक्रमण रोकिनु पर्ने ।
‘हाम्रा सर्तहरू स्वीकार गर्नु वासिङटनकै हितमा छ । ट्रम्पका धम्कीहरूले कुनै नतिजा दिने वाला छैनन् । किनकि हामी निर्णायक युद्धका लागि तयार छौँ,’ सुरक्षा प्रमुख रेजाईले भने । उता आइतबार बिहान, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले पनि स्ट्रेट अफ हर्मुज जलमार्गबारे तेहरानको अडान दोहोर्याउँदै अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेसम्म यो महत्वपूर्ण जलमार्ग बन्द रहने बताए ।
समझदारीपत्रसँग मिल्छन् पछिल्ला सर्त
अमेरिकासँग युद्ध अन्त्य गर्न भनेर इरानले पेस गरेको पछिल्ला सर्तहरू यसअघि जुन महिनामा अमेरिका–इरानबिच भएको समझदारीपत्रसँग धेरै हदसम्म मिल्छन् । उक्त सम्झौतामा पनि लेबनानलगायत सबै मोर्चामा युद्धको अन्त्य गर्ने विषय समावेश थियो, दुवै पक्षको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, दुवै पक्षद्वारा लगाइएको नौसैनिक नाकाबन्दीको अन्त्य गर्ने, र इरानको रोक्का गरिएको रकम फुकुवा गर्ने विषयहरू यसमा समावेश थिए ।
जुन महिनाको समझदारीपत्रमा त्यसबाहेक थप अमेरिकाले इरानमा ३०० अर्ब डलरको पुनर्निर्माण योजनामा सघाउने विषय पनि थियो । साथै, इरानले आणविक हतियार खरिद वा विकास नगर्ने र तेहरानले जहाजहरूको सुरक्षित आवतजावतका लागि ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्ने कुरामा पनि दुवै पक्ष सहमत भएका थिए । त्यस्तै, अमेरिकाले इरानी कच्चा तेल र अन्य सेवाहरूको निर्यातमा लगाएको प्रतिबन्धमा छुट प्रदान गर्नुपर्ने, इरानमाथि नयाँ प्रतिबन्ध नलगाउने र यस क्षेत्रमा थप अमेरिकी सेना तैनाथ नगर्ने सर्तहरू पनि राखिएका थिए ।
अहिले नयाँ सर्त जारी गरेपछि आणविक कार्यक्रमका सम्बन्ध इरानको अडान के छ भन्ने प्रश्नमा सुरक्षा प्रमुख रेजाईले अहिले पनि देशले आणविक हतियारमाथि प्रतिबन्ध लगाउने पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ‘फतवा’ (आदेश)को पालना गरिरहेको बताए । खामेनीले सन् २००३ मा देशले आणविक अनुसन्धान गरे पनि आणविक बम बनाउन प्रतिबन्ध लगाएका थिए । ‘तर भविष्यमा के हुन्छ भन्ने हामीलाई थाहा छैन,’ रेजाईले भने । उनले भविष्यमा आउन सक्ने थप प्रतिबन्धहरू वा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा इरानको आणविक फाइल सिफारिस गरिने सम्भावनाले भविष्यमा आफूहरूको कदम पनि बदलिनसक्ने औँल्याए ।
पछिल्लो समय यमनमा चर्कँदै गएको युद्धका विषयमा टिप्पणी गर्दै रेजाईले त्यसमा इरानको कुनै संलग्नता नरहेको बताए । र, हाल युद्धरत पक्षबिच मध्यस्थताका लागि भने तयार रहेको पनि उनले बताए । तेहरानले यस द्वन्द्वलाई ‘आफ्नो राजनीतिक स्वार्थका लागि’ प्रयोग नगरेको उनले जोड दिए । ‘हामी युद्धरत यमन र साउदी अरबबिच शान्ति स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार छौं,’ रेजाईले भने ।
इरानका सुरक्षा प्रमुखले विश्वव्यापी ऊर्जा बजारमा दबाब सिर्जना गर्न यमनी तटनजिकको ‘बाब अल–मान्देब’ जलमार्ग बन्द हुने भनेर इरानभित्रै र बाहिर चलिरहेको अड्कलबाजीलाई पनि खारेज गरे । उनले उक्त जलमार्ग हुथी आन्दोलनसँग सम्बन्धित ‘यमनको आन्तरिक मामिला’ भएको र इरानले यसबारे केही भन्न नसक्ने स्पष्ट पारे ।
अमेरिकी प्रतिक्रिया आउन बाँकी
अमेरिकाले इरानका नयाँ सर्तहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बरु अरब प्रायद्वीपमा बढ्दो तनावबिच शनिबार अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका आफ्ना नागरिकहरूलाई ‘उच्च सतर्कता’ अपनाउन चेतावनी दियो । त्यस्तै, शनिबार नै बिदामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेरिल्यान्डस्थित एकान्त राष्ट्रपतीयपरिसरबाट बिदा छोट्याएर ह्वाइटहाउस फर्किएका छन् । उनको छिटो फिर्तीको कुनै कारण खुलाइएको छैन, तथापि यसलाई मध्यपूर्वमा विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ ।
नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि युद्ध अन्त्य गर्ने प्रयासस्वरूप ट्रम्पले इरानको प्रस्तावलाई गम्भीरतापूर्वक लिन सक्ने ‘किङ्स कलेज’ लन्डनका प्राध्यापक रब गाइस्ट पिनफोल्डले बताए । ‘अमेरिकामा इरान युद्ध निकै अलोकप्रिय रहेकाले ट्रम्प मध्यावधि निर्वाचनअघि नै युद्ध टुंग्याउने सम्झौता गर्न निकै आतुर छन्,’ पिनफोल्डले भने । त्यसबाहेक खाडी क्षेत्रका अमेरिकी सहयोगी देशहरूले पनि वार्ता पुनः सुरु गर्न जोड दिइरहेका छन् । तथापि, दुई पक्षबिच महत्वपूर्ण र ठोस मतभेद नभएको भने होइनन् । यिनै मतभेदका कारण छिट्टै नै सम्झौता हुने सम्भावना भने कम देखिन्छ ।
जमाल अन्तर्राष्ट्रिय राजनीति र विभिन्न देशको मानव अधिकारको अवस्थाबारे समाचार, आलेख तथा विश्लेषण लेख्ने गर्छिन् । अलजजिराबाट