चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएको खुलेको छ । शनिबार बिहान मृत फेला परेको रोनाल्डोको पोस्टमार्टमपछि करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले पोस्टमार्टमबाट रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको पत्ता लागेको बताए । उनका अनुसार पोस्टमार्टम पूरा गरी दाह्रा निकालेर हात्तीको अन्तिम संस्कारसमेत गरिसकिएको छ ।
शनिबार बिहान करिब ७ बजे रोनाल्डो मृत फेला परेको खबर निकुञ्ज कार्यालयलाई प्राप्त भएको थियो । बिसहजारी ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेटनजिकै रोनाल्डो मृत भेटिएको हो । उक्त क्षेत्रमा निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको पोस्टसमेत छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार सुरक्षा पोस्टमा विद्युत् पुर्याउन लगिएको इन्सुलेटेड तार रोनाल्डोले चपाएको पाइएको छ । घटनास्थलको अवस्था हेर्दा तार चपाउने क्रममा करेन्ट लागेको देखिएको उनले बताए ।
‘कालो इन्सुलेटेड तार थियो । करिब १५/१६ फिट माथिबाट लगिएको तार हात्तीले तानेको देखिन्छ,’ उनले भने, ‘हात्तीको मुखमै तार भेटिएको थियो ।’ उनका अनुसार उक्त क्षेत्रमा करिब ६ सय मिटर दूरीसम्म विद्युत्को तार लगिएको छ । हात्तीले तारलाई लहरो ठानेर तानेको वा चपाएको हुन सक्ने निकुञ्जको अनुमान छ । तार किन र कसरी हात्तीको पहुँचमा पुग्यो भन्ने विस्तृत प्राविधिक पक्षबारे अनुसन्धानपछि मात्रै खुल्ने अधिकृत पुनले बताए ।
निकुञ्जका अनुसार रोनाल्डो बरन्डाभार वनक्षेत्र र सौराहानजिकैको खोरसोर हात्ती प्रजनन केन्द्रआसपास ओहोरदोहोर गरिरहन्थ्यो । वरिष्ठ अधिकृत पुनका अनुसार पछिल्लो करिब तीन महिना भने रोनाल्डो खोरसोर क्षेत्रमा देखिएको थिएन । जंगलमै बसेको रोनाल्डो करिब एक साताअघि मात्रै टिकौली आसपास पुनः देखिन थालेको थियो । अधिकृत पुनका अनुसार रोनाल्डो खगेरी क्षेत्रबाट पूर्वतर्फको धानखेती भएको स्थानतिर जाने क्रममा विद्युत्को तारमा परेको हुन सक्छ ।
प्रजनन केन्द्रका लागि भरपर्दो भाले हात्ती थियो ‘रोनाल्डो’
करिब ४५ वर्षको रोनाल्डो खोरसोरस्थित हात्ती प्रजनन केन्द्रका लागि महत्वपूर्ण जंगली भाले हात्ती थियो । निकुञ्जका अनुसार रोनाल्डो करिब ०५८ देखि सौराहा, खोरसोर र बरन्डाभार क्षेत्रमा देखिन थालेको थियो । त्यतिवेला उसको उमेर करिब २० वर्ष रहेको अनुमान गरिएको अधिकृत पुनले बताए ।
खोरसोरमा रहेका धेरै पोथी हात्तीले रोनाल्डोबाट गर्भधारण गरी छावा जन्माएका छन् । अधिकृत पुनका अनुसार निकुञ्जमा भएको अभिलेखका आधारमा प्रजनन केन्द्रमा जन्मिएका करिब ७०–७१ छावामध्ये ३३ वटा रोनाल्डोका सन्तान हुन् । ‘हाम्रो रेकर्डअनुसार करिब ३३ वटा यसको सन्तान देखिन्छन् । शतप्रतिशत पुष्टि भएको संख्या भने होइन,’ उनले भने ।
अधिकृत पुनका अनुसार अन्य जंगली भाले हात्ती पनि प्रजनन केन्द्रआसपास आउने भए पनि रोनाल्डो तुलनात्मक रूपमा कम आक्रामक थियो । त्यसैले प्रजनन केन्द्रका लागि ऊ भरपर्दो मानिन्थ्यो । ‘अरू भाले हात्ती पनि आउँछन् । तर, रोनाल्डो अरूभन्दा अलि भद्र र कम आक्रामक भएकाले हामीलाई सहज थियो,’ उनले भने, ‘प्रजननसँगै मानिससँग पनि तुलनात्मक रूपमा सहज व्यवहार गर्ने भएकाले यसको मृत्युले हामीलाई बढी क्षति महसुस भएको छ ।’
रोनाल्डोको मृत्युपछि हात्ती प्रजनन नै रोकिने अवस्था भने नरहेको अधिकृत पुनले बताए । अन्य जंगली भाले हात्ती पनि प्रजनन केन्द्रआसपास आउने गरेका छन् । तर, लामो समयदेखि परिचित र सहज व्यवहारका कारण रोनाल्डोको अभाव महसुस हुने उनको भनाइ छ ।
करिब २५ वर्षअघि सौराहा क्षेत्रमा देखिन थालेको यो हात्तीलाई स्थानीयले ‘रोनाल्डो’ नाम दिएका थिए । त्यसवेला ब्राजिलका फुटबल खेलाडी रोनाल्डो चर्चामा थिए । फुर्तिलो देखिने जंगली भाले हात्तीलाई उनकै नामबाट चिनाउन थालिएको अधिकृत पुनले बताए । उनका अनुसार पछि यही नाम निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दा र पर्यटकमाझ स्थापित भयो ।