शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

एनपिएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा साबिक विजेता र उपविजेता भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अक्टोबर २६ अर्थात् कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ। यससँगै एनपिएलको तेस्रो संस्करणको सुरुवात नै अघिल्लो संस्करणका फाइनलिस्टबिचको खेलबाट हुनेछ।

सुनसरीको देवानगन्जमा तनाव, गोली लागेर एकजना गम्भीर घाइते

सुनसरीको देवागन्जमा छिमेकी दुई समूहबिच झडप हुँदा एकजना गोली लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

शनिबार साँझ देवानगन्ज गाउँपालिका- १, मध्यहर्साहीमा दुई समूहबिच झडप हुँदा एकजना गोली लागेर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

स्थानीयले भने झडपमा गोली चलेर एकजनाको मृत्यु भएको बताएका छन्। तर, प्रहरीले भने एकजनालाई तिघ्रामा चोट लागेर गम्भीर घाइते भएकाले उपचारका लागि विराटनगर लगिएको बताएको छ। 

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

मुलुकको नेतृत्व फेरि कम्युनिस्टको हातमा आउँछ, हामी त्यसैमा काम गर्दै छौँ : वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले मुलुकले कम्युनिस्ट शक्तिबिच एकता र लोकतान्त्रिक शक्तिबिच सहकार्य खोजेको बताएका छन्। शनिबार पार्टीको खानीखोला गाउँपालिका सम्पर्क समिति, काभ्रेको भेलालाई सम्बोधन गर्दै पुनले विचार मिल्ने शक्तिबिच एकता गरेर अघि बढ्नुपर्ने पक्षमा आफूहरू रहेको बताए।

नेकपा विभाजनले निम्त्याएको निराशाको पृष्ठभूमिमा गत भदौ २३ गतेको जेन-जी आन्दोलन र २४ गतेको विध्वंस भएको उनको भनाइ थियो। ‘नेकपा हुँदा गठबन्धन गरेर बहुमत ल्यायौँ, त्यसलाई टिकाउन सकेनौँ। नेकपाको बहुमत नटिकेकै कारण कम्युनिस्टले पनि गर्न सकेनन् भन्ने निराशा भयो। त्यसमा विभिन्न खालका चलखेल र घुसपैठ पनि भए,’ पुनले भने, ‘जुन प्वाइन्टमा गल्ती भयो, त्यही प्वाइन्टबाट अगाडि बढ्नुपर्छ।’

पुराना राजनीतिक नेतृत्वको ‘भन्ने एउटा, गर्ने अर्को’ शैलीबाट जनता वाक्कदिक्क भए : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वको ‘भन्ने एउटा, गर्ने अर्को’ शैलीबाट आमनेपाली जनता वाक्कदिक्क भएको बताएका छन्। शनिबार संविधान दिवसको अवसरमा समाजिक सञ्जालमार्फत उनले नयाँ नेतृत्वबाट जनताले गरेको फरक अपेक्षा पूरा होस् भन्दै शुभकामना दिए। 

युवा नेतृत्वमा रहेको नयाँ सरकारको संविधानप्रतिको निष्ठाबारे उठिरहेका आशंकाका बिच प्रधानमन्त्री बालेन्द्र शाहले संविधान दिवसका अवसरमा गरेको सम्बोधन सकारात्मक रहेको बताए। प्रधानमन्त्री शाहको सम्बोधनका केही वाक्यांशले संविधानप्रतिको सरकारको प्रतिबद्धताबारे उठेका विभिन्न आशंका निवारण गर्न मद्दत गर्ने उनकाे भनाइ छ । 

संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका छन्। भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नेपाली दूतावास, नयाँदिल्लीले आयोजना गरेको संविधान दिवस कार्यक्रममा बोल्दै संविधानलाई समयानुकूल सुधार गर्दै अघि बढ्न सकिने बताएका हुन्।

उनले संविधान एउटा जीवन्त कानुनी दस्ताबेज भएको उल्लेख गर्दै आवश्यकता र समयअनुसार संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने व्यवस्था संविधानमै रहेको स्पष्ट पारे। ‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने।

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट थप ११ जनाकाे शव फेला

गत भदाै १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा ११ वटा शव फेला परेका छन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो।

सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार संविधान दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयासमा सरकार अझ बलियो र सक्रिय भएर अघि बढिरहेको बताए।  

उनले भने, ‘म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर, त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्।’
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई अवलम्बन गरेको बताए। 

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्वबासी परिवारले पाए लालपुर्जा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

लामो समयदेखि स्वबासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

सशस्त्र प्रहरीका सइको हत्या आरोपी २२ महिनापछि गोली हानी पक्राउ

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारी नरगीमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव निरीक्षक (सइ) करिब ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको हत्याका मुख्य आरोपीलाई प्रहरीले २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको छ।

सिरहाको महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब सवा ५ बजे सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घटनाका मुख्य आरोपी भारतीय नागरिक करिब ३७ वर्षीय मोहम्मद कुरवान मन्सुरी भनिने मोहम्मद कुरवानलाई गोली प्रहार गरी पक्राउ गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार