पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वको ‘भन्ने एउटा, गर्ने अर्को’ शैलीबाट आमनेपाली जनता वाक्कदिक्क भएको बताएका छन्। शनिबार संविधान दिवसको अवसरमा समाजिक सञ्जालमार्फत उनले नयाँ नेतृत्वबाट जनताले गरेको फरक अपेक्षा पूरा होस् भन्दै शुभकामना दिए।
युवा नेतृत्वमा रहेको नयाँ सरकारको संविधानप्रतिको निष्ठाबारे उठिरहेका आशंकाका बिच प्रधानमन्त्री बालेन्द्र शाहले संविधान दिवसका अवसरमा गरेको सम्बोधन सकारात्मक रहेको बताए। प्रधानमन्त्री शाहको सम्बोधनका केही वाक्यांशले संविधानप्रतिको सरकारको प्रतिबद्धताबारे उठेका विभिन्न आशंका निवारण गर्न मद्दत गर्ने उनकाे भनाइ छ ।
उनले प्रधानमन्त्री शाहको सम्बोधन उद्धृत गर्दै संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यस्तै, संघ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ पनि सकारात्मक रहेको उनले बताएका छन् ।
भट्टराईले ‘सहिदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं’ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई समेत उल्लेख गरेका छन् ।