‘वारपार’को स्थितिमा कांग्रेस

सभापति थापा र पूर्वसभापति देउवाले आ–आफ्नो समूहले घोषणा गरेको महाधिवेशनमा सहभागी हुन गरे अपिल

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

१५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेस ‘वारपार’को स्थितिमा पुगेको छ । सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबिच संवाद हुन सकेको छैन भने दुवै पक्ष महाधिवेशनको अन्तिम तयारीमा छन् । संवादको साटो थापा र देउवा दुवैले आफू पक्षले घोषणा गरेको १५औँ महाधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई सार्वजनिक अपिल गरेका छन् । जसले दुई पक्षबिच दूरी झन् बढाएको छ ।

निवर्तमान सभापति देउवाले मंगलबार अपिल जारी गरेको केही समयमै सभापति गगन थापाले पनि आह्वान गर्दै महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । पार्टीको विधानबमोजिम विशेष महाधिवेशनपछि सम्पन्न हुन गइरहेको १५औँ महाधिवेशनको प्रक्रियामा पार्टीका सबैको सहभागिता सुनिश्चित गर्न पूर्वको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी एवं सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको थापाले स्पष्ट गरेका छन् ।

थापाले भनेका छन्, ‘२०८३ असोज १६ देखि १९ सम्म काठमाडौंमा सम्पन्न हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि २०८३ असोज ३ र ४ गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछु । नेपालको संविधान, कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा देशभित्र र देशबाहिर विभिन्न तहमा रहेर पार्टीको बृहत्तर हितका लागि निरन्तर चिन्ता चासो व्यक्त गर्ने, संवाद, सहमतिका लागि सत्प्रयास गर्ने र अधिवेशन प्रक्रियामा सक्रिय रहने सबै सदस्य, समर्थक शुभेच्छुक साथीहरूप्रति आभार प्रकट गर्दछु ।’

थापाले महाधिवेशनमा सबैको सहज एवं उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न, कोही पनि कांग्रेसका सदस्य वञ्चित नहुन् भन्ने भावनाका साथ केन्द्रीय कार्यसमितिले पार्टीभित्र आपसी संवाद, सहमतिको वातावरण बनाउनका लागि अधिकतम प्रयास गर्दै आएको उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुन सक्छन्, तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भनेका छन् ।

कांग्रेसमा फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको थापाले स्मरण गरेका छन् । जिम्मेवारीबोधका साथ वर्तमान कार्यसमितिले समस्त कांग्रेसजनको मनोभावनाअनुसार पटक–पटक संवादमार्फत सहमतिका सबै विकल्प स्वीकार गरेर सहभागिताको प्रयास गरेको उनले दाबी गरेका छन् । ‘पार्टीको आन्तरिक जीवनमा सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै यस्तो विधि र उत्तम विकल्प हो, जसले फरक विचारलाई सम्मान, सम्बोधन र उचित विचारलाई अनुमोदन गर्दछ,’ थापाले भनेका छन्, ‘महाधिवेशनमार्फत हामी सबैको सामूहिक प्रयासबाट पार्टीलाई ऐक्यबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौतीको सामना गर्न सक्ने बलियो कांग्रेस बनाउनेछौँ ।’

पार्टीका अग्रज नेताहरू, पार्टीका विभिन्न तहका पदाधिकारी एवं सदस्यहरूबाट आएको सुझावलाई मध्यनजर गरी ०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको र त्यसअनुसार सदस्यता व्यवस्थापन समितिले सदस्यता नामावली टुंग्याइसकेको थापाले जानकारी गराएका छन् ।  तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको पनि सदस्य सुनिश्चित भइसकेकाले १५औँ महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रूपमै सहभागी हुने हुँदा कुनै पनि अलमल एवं द्विविधामा नपरी असोज ३ र ४ गतेको वडा अधिवेशनलगायत अन्य तहका निर्धारित कार्यतालिकाबमोजिमका अधिवेशनहरूमा सहभागी हुन उनले आग्रह गरेका छन् ।

देउवा मूकदर्शक भएर नबस्ने, संस्थापनसँग सबै मोर्चामा भिड्ने
कांग्रेस विवाद पार्टी विभाजनकै विन्दुमा पुग्नै लाग्दा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा संस्थापनसँग राजनीतिक, कानुनी र प्राविधिकसहितका सबै मोर्चामा भिड्ने तयारीसहित ‘फ्रन्टफुट’मा उत्रिएका छन् । १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नु आफ्नो दायित्व र कर्तव्य रहेको भन्दै देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिले ल्याएको कार्यतालिकाअनुसार महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।

मंगलबार अपिल जारी गर्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व र कर्तव्य भएको दाबी गरेका छन् । पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मूकदर्शक भएर बस्न नसक्ने पनि बताएका छन् । 
‘कांग्रेसको विधान र नेपालको संविधानबमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकÞी हुँदा पनि सहमतिबेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मूकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले भनेका छन् ।

कांग्रेसले ३ असोजमा वडा अधिवेशन सुरु गरेर १६–१९ असोजमा काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । देउवा पक्षले १५ असोजमा वडा अधिवेशन गर्दै २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । यहीबिचमा मंगलबार देउवाले सहमतिको सम्भावना हुँदाहुँदै विशेष महाधिवेशन पक्षधरले हतारमा महाधिवेशन गर्न लागेको भन्दै उक्त प्रक्रियामा सहभागी नहुन अपिल गरेका छन् ।

देउवाले डा. शशांक संयोजक रहेको समितिको कार्यतालिकाअनुसार महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीत भएको देउवाको ठहर छ ।

सानेपाले जारी गर्यो निर्वाचन निर्देशिका
कांग्र्रेसको आगामी असोज १६–१९ मा हुने १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँका साथै १०–१० जना प्रस्तावक र समर्थक चाहिने भएको छ । मंगलबार जारी ‘निर्वाचन निर्देशिका– २०८३’ अनुसार उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिन ३०, सहमहामन्त्रीका लागि २० र केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि ११ हजार शुल्क लाग्नेछ । यस्तै, प्रदेश सभापतिका लागि २०, उपसभापति र महामन्त्रीका लागि १५, सहमहामन्त्रीका लागि १० र सदस्यका लागि पाँच हजार शुल्क लाग्नेछ । जिल्ला सभापतिका लागि १५, उपसभापति र सचिवका लागि सात, सहसचिवका लागि ६ र सदस्यका लागि तीन हजार शुल्क लाग्ने भएको छ । निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ र महासमिति सदस्यका लागि पाँच हजार शुल्क लाग्नेछ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि १०, उपसभापति र सचिवका लागि पाँच, सहसचिवका लागि चार र सदस्यका लागि दुई हजार लाग्नेछ । प्रदेश अधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्न पाँच हजार लाग्नेछ । 

सुझावित समाचार