- आफूनिकट नेताहरूसँग पूर्णबहादुर खड्काले भनेका छन्, ‘सर्वोच्चमा आधिकारिकताको निवेदन दिएकोले कुनै पनि महाधिवेशनमा सहभागी हुँदैनौँ ।’
- शेखर कोइरालाले पनि एकताको महाधिवेशन नभएसम्म कुनै पनि समूहका महाधिवेशनमा सहभागी नहुने बताउने गरेका छन् ।
समानान्तर महाधिवेशनमा लागेका प्रमुख प्रतिपक्षी कांग्रेसका दुई खेमा (सभापति गगन थापा र १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा) सँग दूरी बनाउँदै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले तेस्रो धार बनाउने तयारी गरेका छन् । आन्तरिक एकतामा जोड दिँदै आएका खड्का र कोइराला एकताको महाधिवेशन नहुने अवस्थामा दुवै महाधिवेशनमा सहभागी नहुने निष्कर्षमा पुगेका छन् । खड्का–कोइरालाको ‘पोजिसन’ कायम रहे संस्थापन र इतर दुवै समूहमा ठुलो दबाब पर्न सक्ने देखिएको छ ।
देउवा पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति खड्काले विवादित अवस्थामा कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएका छन् । आफूनिकट नेताहरूसँग उनले भनेका छन्, ‘सर्वोच्च अदालतमा आधिकारिकताको निवेदन दिएकोले कुनै पनि महाधिवेशनमा सहभागी हुँदैनौँ ।’ एक नेताका अनुसार दुवैतर्फ दबाबका लागि यो संख्या बढ्न सक्ने देखिएको छ ।
खड्का तटस्थ बसे पनि उनीपक्षीय नेताहरू भने संस्थापन पक्षको महाधिवेशनमा सहभागी हुने भएका छन् । ‘हामी चुनाव चिह्न र चारतारे झन्डा जता हुन्छ, त्यतै हुन्छौँ,’ खड्कानिकट नेता रामहरि खतिवडाले भने ‘पूर्ण दाइले सर्वोच्चमा निवेदन दिनुभएको छ । त्यो निर्णय नआएसम्म उहाँलाई नैतिक संकट भयो । तर, उहाँले रुख र चारतारे झन्डाभन्दा बाहिर हुन्नँ भन्नुभएको छ ।’
आफूहरू एकताका लागि अन्तिमसम्म लागिपर्ने उनले बताए । सानेपाको निर्णयपछि इतर पक्षका नेताहरूसँग पनि छलफल गर्ने उनले बताए । ‘हामीले एकतामा जोड दिनुपर्छ । यो पार्टीमा धेरै लगानी गरिएको छ । मैले त सदस्यता पनि नवीकरण गरिसकेको छु । अन्तिम समयसम्म एकताका लागि लाग्नुपर्छ,’ उनले भने । साथै उनले सानेपाले एकताको पहल गर्नु सकारात्मक भएको बताए । अन्तिमसम्म सहमतिको प्रयास गर्ने र सहमति जुट्न नसके पनि आफूहरू संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनमा सहभागी हुने उनले बताए । आफूहरू करिब ४० जना रहेको पनि उनले जानकारी दिए ।
देउवा समूहबाट तेह्रथुममा केन्द्रीय प्रतिनिधि तोकिएकी पूर्वमन्त्री सीता गुरुङले अहसमति जनाएकी छिन् । उनले कांग्रेस चुनाव चिह्न र चारतारे झन्डा जता छ आफू त्यहीँ रहने उल्लेख गरेकी छिन् ।
यस्तै, आफूनिकट नेता तथा कार्यकर्ताहरूसँग कोइरालाले एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउने गरेका छन् । ‘उहाँले आन्तरिक एकतामा जोड दिँदै आउनुभएको छ । पार्टी एकताका लागि देशव्यापी रूपमा अभियान चलाउनुहुन्छ । पार्टी एक नभई गरिने महाधिवेशनमा उहाँ सहभागी हुनुहुन्न,’ कोइरालानिकट नेता नेता सञ्जय गौतमले भने ।
नेता कोइरालाले एकताका लागि देशव्यापी रूपमा अभियान चलाउने तयारीसमेत गरेका छन् । नेता गौतमका अनुसार कोइरालाले देश संकटमा रहेको वेला कांग्रेसको एकता अनिवार्य भएकोमा जोड दिएका छन् । ‘देश गम्भीर संकटमा छ । कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यस्तो अवस्थामा पार्टी विभाजनलाई मलजल गर्ने काम मबाट हुँदैन । दुई चिरा भएर महाधिवेशनमा जानु आत्मघाती हुन्छ । विभाजित कांग्रेसले राष्ट्रिय समस्या समाधान गर्न सक्दैन,’ कोइरालाको भनाइ उद्धृत गर्दै गौतमले भने ।
१४औँ महाधिवेशनका केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशन आयोजक समितिमा समेट्ने कांग्रेसको निर्णय,
अदालतको निर्णय पर्खिनुपर्ने वा देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने इतर समूहको अडान
प्रतिपक्षी दल कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सबैलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो । देउवा समूहले अदालतमा विचाराधीन मुद्दाको निर्णय पर्खिनुपर्ने वा देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याएको छ ।
प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनमा सहभागी नभएका, तर १४औँ महाधिवेशनबाट निर्वाचितहरूलाई सोही हैसियत दिने निर्णय भएको बताए । ‘विशेष महाधिवेशनमा सहभागी नहुनुभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले सोही हैसियत पाउनुहुनेछ,’ उनले भने ।
देउवा पक्षका नेता एनपी साउदले पार्टीको पदाधिकारी व्यवस्थापनभन्दा कानुनी र राजनीतिक विषय मुख्य भएकाले सहमति खोज्नुपूर्व सबैभन्दा पहिले महाधिवेशनका कार्यक्रम स्थगित गरेर वार्तामा बस्नुपर्ने बताएका छन् । ‘हामीसँग कुराकानी–छलफल केही भएको छैन । उहाँहरूको एकपक्षीय निर्णय हो । पदाधिकारी व्यवस्थापन हाम्रो चाहना र इच्छा होइन । पदाधिकारी व्यवस्थापनका रूपमा जुन निर्णय भएको कुरा छ, त्यसमा हाम्रो समर्थन छैन,’ उनले भने । साउदले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको अध्यक्षतामा विशेष महाधिवेशन पक्षधरसमेत समावेश गरेर १५औँ महाधिवेशन गर्न सकिने बताए । ‘त्यसका लागि सबैभन्दा पहिले महाधिवेशनका कार्यक्रम स्थगित गरेर वार्तामा बस्नुपर्छ,’ उनले भने ।
देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक
देउवा पक्षले १५औँ महाधिवेशनका लागि एकराज पोखरेललाई केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ । १५औँ महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिले संयोजक तोकेको बताए । आगामी २१–२३ मंसिरको महाधिवेशन मर्यादित, निष्पक्ष र व्यवस्थित सम्पन्न गराउने मुख्य जिम्मेवारी पोखरेललाई दिइएको कुइँकेलले बताए । देउवा पक्षले अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लामा खटाइसकेको छ । देउवा पक्षले आगामी १५ असोजमा वडा अधिवेशन गर्ने तयारी गरेको छ ।