अन्तहीन युद्धमा फस्दै अमेरिका

२५ वर्षअघि ११ सेप्टेम्बरको आतंकवादी आक्रमणपछि अमेरिकाले सुरु गरेको एकपछि अर्को युद्धमा कम्तीमा ४५ लाख मानिसको ज्यान गएको छ भने तीन करोड ८० लाखभन्दा बढी विस्थापित भएको तथ्यांकले देखाउँछ

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

अलकायदाका १९ जना अपहरणकारीले चारवटा व्यावसायिक विमान नियन्त्रणमा लिएर ‘वल्र्ड ट्रेड सेन्टर’ र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)मा विमान ठोक्काएर करिब तीन हजार मानिसको ज्यान लिएको २५ वर्ष पूरा भएको छ । आक्रमणपछि अमेरिकाको नेतृत्वमा शृंखलाबद्ध युद्ध भए, जसले वासिंटनको विदेश नीतिलाई एक पुस्ताभरिका लागि परिवर्तन गरिदियो । 

सन् २००१ सेप्टेम्बरको आक्रमणपछि हरेक वर्ष अमेरिकी सेनाले विश्वको कुनै न कुनै देशमा बमबारी गर्दै आएको छ, जसले दसौँ लाख मानिसको जीवन तहसनहस पारिसक्यो । ‘त्यसले सबै कुरा बदलिदियो,’ सन् २००३ मा इराकमाथि आक्रमण हुँदा विद्यार्थी रहेका इराकी नागरिक ओमर (नाम परिवर्तन)ले सेप्टेम्बर ११ को आक्रमणपछि उनी र उनको देशलाई परेको प्रभावबारे अल–जजिरालाई भने ।  सेप्टेम्बर ११ कै आक्रमणपछि इराकमा आमविनाशकारी हतियार झुटो बहानामा अमेरिकाले युद्ध सुरु गर्दा ठुलो हताहती हुन पुगेको थियो ।

युद्धमा मारिए ४५ लाख
सन् २००१ मा भएको अलकायदाको आक्रमणलाई त्यस दिनको मितिका आधारमा ९/११ घटना भन्ने गरिन्छ । आक्रमणको एक महिनाभन्दा छोटो समयमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो । अफगानिस्तानमाथि आक्रमणसँगै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले भनेजस्तो ‘आतंकवादविरुद्धको युद्ध’ (वार अन टेरर) सुरु ग¥यो । यसबाट सुरु भएको अन्तहीन सैन्य अभियान अफगानिस्तान, इराक तथा मध्यपूर्व, दक्षिण एसिया र अफ्रिकाका विभिन्न देशसम्म विस्तार भयो । 

‘वार अन टेरर’का क्रममा भएका हताहतीको रेकर्ड राख्न अमेरिकाको ब्राउन युनिभर्सिटीको ‘वाट्सन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स’ले ‘कस्ट अफ वार’ परियोजना नै सुरु गरेको थियो । परियोजनाअनुसार सन् २००१ यता अमेरिकी नेतृत्वका भएका युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ४५ लाखदेखि ४७ लाख मानिसको मृत्यु भइसकेको छ । तिनमा करिब नौ लाख ४० हजार प्रत्यक्ष युद्धमा मारिएका हुन् भने बाँकी ३६ देखि ३८ लाखको मृत्यु भने युद्धका कारण सिर्जित रोग, कुपोषण तथा स्वास्थ्य जटिलतामा समावेश गरिएको छ ।

अफगानिस्तान युद्धमा एक लाख ७६ हजारको मृत्यु
अफगानिस्तानको तत्कालीन शासक तालिबानले आफूले शरण दिइरहेको अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई बुझाउन अस्वीकार गरेको आरोपमा अमेरिकाले ७ अक्टोबर २००१ मा अफगानिस्तानमाथि आक्रमण सुरु ग¥यो । ‘अप्रेसन इन्ड्युरिङ फ्रिडम’ नाममा सुरु सैन्य अभियानका क्रममा तालिबानको सत्ता केही हप्तामै ढल्यो । तर, युद्ध भने निकै लामो चल्यो, जुन चारजना अमेरिकी राष्ट्रपतिको कार्यकालसम्म लम्बिएर झन्डै २० वर्षसम्म चलिरह्यो ।

अमेरिकी संलग्न भएकोमध्ये सबैभन्दा लामो द्वन्द्व मानिने अफगान युद्धमा झन्डै एक लाख ७६ हजार प्रत्यक्ष रूपमा मारिएका थिए । ब्राउन युनिभर्सिटीको ‘कस्ट्स अफ वार’ परियोजनाको विश्लेषणअनुसार अनुमानित एक लाख ७६ हजार प्रत्यक्ष मृत्युबाहेक युद्धले निम्त्याएको भोक, रोग र उपचार नपाएका चोटपटकका कारण अन्य लाखौँ मानिसको मृत्यु भयो । अफगान युद्धअघि ६२ प्रतिशत अफगान नागरिक खाद्य असुरक्षाको चपेटामा थिए भने युद्धपछि यो हिस्सा बढेर ९२ प्रतिशत पुग्यो । साथै, नपड्किएका विस्फोटक पदार्थ र बारुदी सुरुङहरूले अहिलेसम्म पनि सर्वसाधारणको ज्यान लिने र अपांग बनाउने क्रम जारी छ ।

 इराक युद्ध :  सवा तीन लाखको मृत्यु
अफगानिस्तानमा आक्रमण गरेको दुई वर्षभन्दा छोटो समयपछि, १९ मार्च २००३ मा अमेरिकाले इराकमाथि आक्रमण सुरु ग¥यो । इराक युद्ध सुरु हुँदा यस लेखको सुरुमा उल्लेख गरिएका ओमर १८ वर्षका थिए । ‘हामीलाई अझै युद्धका दिनका बमका आवाजको स्पष्ट याद छ, हामी निकै डराएका थियौँ,’ उनले अल जजिरालाई बताए । ओमरका अनुसार उनका केही साथी युद्ध सुरु भएपछि चेतावनीका बाबजुद बग्दादमा के भइरहेको छ भनेर हेर्न गएका थिए । इराक युद्धमा मारिनको संख्या तीन लाख पन्ध्र हजार माथि पुगेको ब्राउन युनिभर्सिटीको तथ्यांकले देखाउँछ । 

हवाई अभियान र ड्रोन युद्ध
अफगानिस्तान र इराकमा स्थलयुद्ध भएकाले धेरैलाई त्यहाँको लडाइँबारे थाहा छ । तर, स्थलगत युद्धका अतिरिक्त अमेरिकाले ९÷११ पछि पाकिस्तान, यमन, सोमालिया र सिरियामा आइएसआइएलविरुद्ध ठुलो परिमाणमा अघोषित हवाई तथा ड्रोन अभियान सञ्चालन ग¥यो । त्यसबाहेक स्थलयुद्ध भएका अफगानिस्तान र इराकमा पनि ठुलो परिमाणमा हवाई आक्रमण भए । यस सम्बन्धमा सन् २००४ यता खोज पत्रकारितासम्बन्धी निकाय ‘ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नलिज्म’ले निम्न तथ्यांकको अभिलेख तयार पारेको छ : 

-पाकिस्तानमा अमेरिकाद्वारा ४२३ पटक आक्रमण, जसमा ४२४ देखि ९६६ सर्वसाधारणसहित अनुमानित दुई हजार ४९९ देखि चार हजार एक मानिसको मृत्यु भयो ।
-यमनमा कम्तीमा १८६ पटक हवाई आक्रमण र छापा मारियो, जसमा १५८ सर्वसाधारणसहित कम्तीमा ८५३ मानिसको मृत्यु भयो ।
-सोमालियामा सन् २००१ देखि २०१६ को बिचमा भएका १९ देखि २३ ड्रोन आक्रमणमा १८८ देखि २७६ मानिसको मृत्यु भयो ।

सन् २०११ मा लिबियाका नेता मुअम्मर गद्दाफीको शासनविरुद्ध विरोध प्रदर्शन उठ्यो । प्रदर्शनमाथि दमन भएको भन्दै सर्वसाधारणको सुरक्षाका लागि भनेर संयुक्त राष्ट्र संघको म्यान्डेटमा अमेरिका र नेटोका सदस्य राष्ट्रले लिबियामा हवाई अभियान सञ्चालन गरे । एम्नेस्टी इन्टरनेसनलका अनुसार विद्रोही लडाकुद्वारा गद्दाफी पक्राउ परेर मारिनुअघिका सात महिना चलेको हवाई अभियानमा मुलुकमा करिब नौ हजार ७०० पटक आक्रमण गरिएका थिए ।

 सन् २०१४ मा इराक र सिरियामा आइएसआइएलविरुद्ध अमेरिकाको नेतृत्वमा अलग सैन्य अभियान सञ्चालित भएको थियो । ‘अप्रेसन इनहेरन्ट रिजल्भ’ नामक अभियानमा दसौँ हजार बमसहितको सशक्त हवाई तथा स्थलगत कारबाही समावेश थियो । सन् २०१८ सम्म चलेको अभियानमा अधिकारीहरूले एक हजार ४१७ सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेका छन् । तथापि, सैन्य कारबाहीबाट सर्वसाधारणमा पर्ने असरको अनुगमन गर्ने लन्डनस्थित गैरनाफामुखी संस्था ‘एयर–वार्स’ले भने वास्तविक मृतकको संख्या आठ हजार २६४ देखि १३ हजार ३६० को बिचमा रहेको हिसाब निकालेको छ ।

झन्डै चार लाख विस्थापित
‘कस्ट्स अफ वार’को अनुमानअनुसार ११ सेप्टेम्बर (९÷११) को घटनापछिका युद्धका कारण अफगानिस्तान, इराक, पाकिस्तान, यमन, सोमालिया, फिलिपिन्स, लिबिया र सिरियामा गरी तीन करोड ८० लाखभन्दा बढी मानिस आफ्नो देशभित्रै वा बाहिर विस्थापित भए । दुई दशकभन्दा बढी समय बितिसक्दा पनि मानिस अझै पनि यसको प्रभावमा बाच्न विवश छन् । 

यसै युद्धबाट विस्थापित भएर छिमेकी इरान र पाकिस्तानमा बसोवास गरिरहेकामध्ये झन्डै २९ लाख अफगान शरणार्थी गत वर्ष अनिच्छापूर्वक देश फर्काइए । इराकमा पनि आक्रमण भएको दुई दशकपछि अझै पनि १० लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन् । 

४० वर्षीया अफगान आमा आयसा (नाम परिवर्तन)ले पटक–पटक विस्थापित हुनुपरेका कारण आफ्नो जीवनको धेरैजसो समय अफगानिस्तान र इरानबिच आवतजावत गर्दै बिताउनुपर्यो । 

अमेरिकी पूर्वसैनिकमा परेको प्रभाव
अमेरिकी सेनाका झन्डै आठ लाख सैनिकले अफगानिस्तानमा अमेरिकामा तैनाथ भए । सन् २०२१ मा अन्तिम अमेरिकी सैन्य समूह फिर्ता हुनुअघि करिब दुई हजार ५०० सैनिक मारिएका र २० हजार घाइते भएका तथ्यांक छ । अफगान युद्धमा अमेरिका बेलायत र सहयोगी देशका सेना मिलाएर हेर्दा गठबन्धनका करिब तीन हजार ५०० सैनिक मारिएको र २३ हजार ५०० भन्दा बढी घाइते भए । 

उता इराक युद्धमा भने तीन हजार ४८१ अमेरिकी सैनिकको मृत्यु भएको र ३१ हजारभन्दा बढी घाइते भएको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’को तथ्यांकले देखाउँछ । युद्धमा घाइते पूर्वसैनिकको उपचारलगायत हुने खर्चको भार भने निकै ठुलो छ । ‘कस्ट्स अफ वार’परियोजनाको अनुमानअनुसार संयुक्त राज्य अमेरिकामा ११ सेप्टेम्बरपछिका युद्धमा सहभागी पूर्वसैनिकको हेरचाहमा सन् २०५० सम्ममा २.२ ट्रिलियनदेखि २.५ ट्रिलियन डलरसम्म खर्च हुन सक्छ । धेरै पूर्वसैनिकलाई युद्धका कारण गम्भीर मानसिक आघात परेको पाइएको छ । 

युद्धको लागत : आठ ट्रिलियन डलर 
अमेरिकाले पछिल्लो दुई दशकभन्दा बढी चलेको युद्धमा अनुमानित ५.८ ट्रिलियन डलर खर्च गरिसकेको छ । आगामी दशकमा यी युद्धमा लडेका पूर्वसैनिकको हेरचाहका लागि थप २.२ ट्रिलियन डलर छुट्याइएको छ । यसरी कुल लागत कम्तीमा आठ ट्रिलियन डलर पुग्ने निश्चित भइसकेको छ । जनमत सर्वेक्षणले देखाउँछन् कि अमेरिकीहरू विदेशमा आक्रामक युद्ध गर्न खासै इच्छुक छैनन् । इरानमा जारी युद्ध आमअमेरिकामाझ निकै अलोकप्रिय छ । 
अलजजिराबाट

सुझावित समाचार