अतरकुमारी र कल्पनाले जस्तै अहिले सिराहामा राष्ट्रिय परिचयपत्र बनाउन आउने धेरै सेवाग्राहीले टोकनकै लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । विशेषगरी वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र शारीरिक रूपमा अशक्त सेवाग्राही बढी समस्यामा छन् । औरही गाउँपालिका– ३, पिपराका भरोसकुमार कामती पनि शुक्रबार बिहान आमासँगै राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगे । उनी बस्न र उभिनसमेत नसक्ने अवस्थामा छन् । तर, ढिला पुगेका कारण उनले पनि टोकन पाउन सकेनन् ।
राष्ट्रिय परिचयपत्र बनाउन मोटरसाइकल भएका सेवाग्राही बिहान ४ बजेदेखि नै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर लाइन लाग्ने गरेका छन् । तर, गाउँबाट सार्वजनिक यातायात चढेर आउने नागरिक त्यति बिहानै सदरमुकाम पुग्न सक्दैनन् । त्यसैले उनीहरू टोकन नपाएर फर्किनुपर्ने बाध्यतामा छन् ।
कतिपय सेवाग्राही साना बालबालिकालाई काखमा बोकेरै बिहानैदेखि लाइनमा बस्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिराहाले बिहान साढे ६ बजेदेखि टोकन वितरण गर्ने गरेको छ । दैनिक करिब तीन सयजनालाई मात्र टोकन दिने गरिएको छ ।
राष्ट्रिय परिचयपत्रको आवश्यकता बढ्दै गएपछि सेवाग्राहीको चाप पनि बढेको प्रशासनको भनाइ छ । बैंक खाता अद्यावधिक गर्नेदेखि मतदाता नामावली र राहदानी बनाउनसमेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहबाट सेवाग्राही सदरमुकाम आउने क्रम बढेको हो । यही कारण ग्रामीण क्षेत्रका नागरिकका लागि सदरमुकाम पुगेर टोकन लिनु नै ठुलो झन्झट बनेको छ ।
युवा अभियन्ता जितेश कर्ण सरकार एकातिर नागरिकलाई सहज सेवा दिने र राहदानीसमेत घरमै पुर्याउने दाबी गर्ने, अर्कोतिर राष्ट्रिय परिचयपत्रका लागि नागरिकले दुःख पाउँदा मौन बस्ने गरेको बताउँछन् । उनका अनुसार राज्यले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने हो भने राष्ट्रिय परिचयपत्रको सेवा पनि स्थानीय तहसम्म पुर्याउनुपर्छ ।
अधिकारकर्मी ओमप्रकाश साह ‘मुन्ना’ पनि वृद्धवृद्धा, अपांगता भएका तथा शारीरिक रूपमा अशक्त नागरिकलाई स्थानीय तहमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘सरकारले नागरिकको सुविधालाई ध्यान दिई मातहतको कार्यालयलाई निर्देशन दिनुपर्छ,’ उनले भने, ‘वर्तमान सरकारसँग नागरिकको अपेक्षा निकै छ । त्यही भएर सरकारी सेवा–सुविधा नागरिकमैत्री बनाउनुपर्छ । नागरिकलाई दुःख दिनुभएन ।’
स्थानीय तहमध्ये केहीमा स्थायी केन्द्रको तयारी
जिल्ला प्रशासन कार्यालय सिराहाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण बरालका अनुसार बैंकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न थालेपछि सेवाग्राहीको चाप बढेको हो । हाल जिल्ला प्रशासन कार्यालयमा बिहानै ठुलो संख्यामा सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको सहजताका लागि बिहान ७ बजेदेखि दर्ताको काम सुरु गर्ने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिराहामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि चारवटा स्टेसन छन् । त्यस्तै, इलाका प्रशासन कार्यालय लहानमा दुईवटा स्टेसन छन् । जिल्लाभर अहिले ६ वटा स्टेसनबाट सेवा दिइँदै आएको छ । ‘जिल्लाभरिका सेवाग्राही आउँदा भिडभाड बढेको छ । सेवाग्राहीको चापलाई ध्यानमा राख्दै शनिबार र आइतबार एनआइडीको दर्ता भइरहेको छ,’ बरालले भने ।
सेवाग्राहीको चाप घटाउन जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिरहेको जनाएको छ । शनिबार र आइतबारसमेत राष्ट्रिय परिचयपत्र दर्ता गर्ने व्यवस्था गरिएको छ । जिल्लाका १७ स्थानीय तहमध्ये बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकामा स्थायी रूपमा नयाँ दर्ता स्टेसन स्थापना गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ । यसरी स्थानीय तहमा सेवा विस्तार भएमा वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा सार्वजनिक यातायातमा निर्भर सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण बराल भन्छन्– जिल्ला प्रशासन कार्यालय सिराहामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि चारवटा र इलाका प्रशासन कार्यालय लहानमा दुईवटा गरी जिल्लाभर ६ वटा स्टेसन छन् । अहिले हामी तिनै ६ वटा स्टेसनबाट सेवा दिँदै आएका छौँ । जिल्लाभरिका सेवाग्राही आउँदा भिडभाड बढेको छ । सेवाग्राहीको चापलाई ध्यानमा राख्दै शनिबार र आइतबार पनि एनआइडीको दर्ता गर्दै आएका छौँ । जिल्लाका १७ स्थानीय तहमध्ये बरियारपट्टी, भगवानपुर, गोलबजार, मिर्चैया र कर्जन्हामा स्थायी रूपमा दर्ता स्टेसन स्थापना गर्ने तयारी भइरहेको छ ।
- २४ घण्टाको संघर्षपछि सिराहाका ७० वर्षीया अतरकुमारी तेली र ६० वर्षीया कल्पनादेवी पण्डितले शुक्रबार बिहान राष्ट्रिय परिचयपत्र पाएका छन् । बिहीबार बिहानै जिल्ला प्रशासन कार्यालय सिराहा पुगेका उनीहरूले दिनभर टोकन पाउन सकेनन् । घर फर्किन पनि सम्भव नभएपछि कार्यालयको गेटनजिकै रहेको निजी घरको बरन्डामा रात बिताए । शुक्रबार बिहान फेरि टोकन लिएपछि मात्रै करिब ८ बजे उनीहरूले राष्ट्रिय परिचयपत्र पाएका थिए ।
- कल्याणपुर नगरपालिका– ४, बेरियाकी अतरकुमारी श्रीमान् महन्थी साहु तेलीको साथमा बिहीबार बिहानै अटो चढेर जिल्ला सदरमुकाम आएकी थिइन् । खराब सडकका कारण उनीहरू बिहान करिब साढे ८ बजे मात्रै जिल्ला प्रशासन कार्यालय पुगे । श्रीमान् राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयभित्र गए । तर, काम सुरु गर्नुअघि टोकन लिनुपर्ने रहेछ । टोकन लिन काउन्टरमा पुग्दा सकिइसकेको थियो । बिहानैदेखि भोकै आएका उनीहरूले आफ्नो पालो मिलाइदिन आग्रह गरे । तर, त्यस दिन उनीहरूको काम हुन सकेन । घर फर्किएर फेरि भोलिपल्ट बिहानै आउनुपर्ने भएपछि उनीहरू समस्यामा परे । अन्ततः कार्यालयको मुख्य गेटनजिकै रहेको स्थानीयको घरको बरन्डामा रात बिताउन बाध्य भए । ‘घर जान पनि सकिनँ । बिहान फेरि आउनुपर्छ टोकन लिन,’ महन्थीले भने ।
- सुखीपुर नगरपालिका– ८ का सुकन पण्डित र उनकी श्रीमती कल्पनादेवीको अवस्था पनि उस्तै भयो । उनीहरू बिहीबार बिहान करिब पौने ९ बजे जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यालय पुग्नेबित्तिकै टोकन लिनुपर्ने जानकारी पाए । तर, टोकन काउन्टरमा पुग्दा वितरण बन्द भइसकेको थियो । ‘अफिस पुग्दा पौने ९ भयो । टोकन लिनुपर्छ भन्यो । फाँटमा गएर सोधेपछि टोकन बन्द भयो भन्यो,’ पण्डितले भने, ‘धेरैबेर कुरेर हाकिम सरलाई भेटेँ । उहाँले दिउँसो ४ बजेपछि भइहाल्छ भन्नुभो । हामी बुढाबुढी प्रतीक्षामा बस्यौँ ।’ तर, ४ बजेपछि पनि उनीहरूको काम भएन । घर फर्किने अवस्था थिएन । कल्पनालाई ढाड दुख्ने र हिँडडुल गर्नसमेत कठिनाइ थियो । उनीहरूले जिल्ला प्रशासन कार्यालयछेउकै निजी घरको बरन्डामा रात बिताए । रातमा कजरी र भुजा खाएर बसे । शुक्रबार बिहान फेरि टोकन लिएपछि करिब ८ बजे उनीहरूको राष्ट्रिय परिचयपत्र बनाउने काम सकियो । त्यसपछि मात्रै उनीहरू घर फर्किएका छन् ।