नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई ३ प्रश्न

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पठनपाठन सुरु गर्ने तयारी कस्तो छ ?
बाढीका कारण बुबाआमा गुमाएका बालबालिकाका हकमा चाहिँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बाल संगठनले जिम्मा लिने विषयमा एकखालको सहमति भएको सुनेको छु । सायद अब छिटै निकास निस्केला । बुबाआमा साथमा भएका अन्य बालबालिकाको हकमा चाहिँ सम्बन्धित पालिका र विभिन्न संघसंस्थाले पनि पठनपाठनको विषयमा चासो राखेका छन् ।

अहिले कैयौँ विद्यालय ध्वस्त भएका छन् । पहिले ती विद्यालय सञ्चालनमा रहेका स्थानमा विद्यालय भवन बनाउन सम्भव देखिन्न । अर्कातिर कैयौँ विद्यालय यतिखेर ‘होल्डिङ सेन्टर’ बनेका छन् । ती विद्यालय खाली नहुँदा त्यहाँ पनि पठनपाठन सुरु हुन सक्ने अवस्था छैन । बालबालिकाको पठनपाठन सुरु गर्ने विषयमा दातृ संस्था, पालिका र प्रदेश सरकारसित पनि छलफल भएको छ । तर, यसै गर्ने भनेर ठोस निर्णय भने भइसकेको छैन । 

ध्वस्त भएका विद्यालय पुनर्निर्माण कसरी गर्नुपर्ला ?
यसअघि विद्यालय भवन रहेका स्थानमै पुनः विद्यालय निर्माण गर्न सम्भव देखिन्न । भूगर्भविद्हरूले गहन अध्ययन गरी प्रतिवेदन दिएपछि मात्र ती स्थानमा पुनः विद्यालय बनाउने कि नबनाउने भन्ने निर्णय हुनेछ । विज्ञहरूको सुझाव आएपछि मात्र विपत् व्यवस्थापन प्राधिकरण, राजनीतिक दल, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक आदि सबैसँग गहन छलफल गरेपछि मात्र विद्यालय निर्माणको काम अघि बढ्छ । त्यसका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउनेछन् । उपलब्ध जग्गा भौगर्भिक हिसाबले ठिक छ भन्ने निश्चित भएपछि मात्र विद्यालय पुनर्निर्माणको काम अघि बढ्छ । त्यसैले, यसका लागि चाहिँ समय लाग्न सक्छ । 

दीर्घकालीन तयारी नहुन्जेल तत्कालका लागि कस्ता विकल्प हुन सक्छन् ? 
अल्पकालीन व्यवस्थापन पनि त्यति सजिलो देखिन्न । खासगरी बुबाआमा भएका बालबालिकालाई उहाँहरूसँगै राख्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले त विस्थापित नागरिकको बसोवासको व्यवस्था कहाँ र कसरी मिलाउने भन्ने निश्चित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र बालबालिकाको पठनपाठनको व्यवस्थाबारे सोच्न सकिन्छ ।  

सुझावित समाचार