कांग्रेसको जिल्ला–प्रदेश अधिवेशन महाधिवेशनपछि

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण
  • बाढीपहिरोको विपत्, पार्टीभित्रको सहमति प्रयास र समय अभावलाई कारण देखाउँदै कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका फेरबदल, क्षेत्रीय अधिवेशन र महाधिवेशनबिच पाँच दिनको मात्र अन्तर रहेकाले जिल्ला तथा प्रदेश अधिवेशन महाधिवेशनपछि मात्रै गर्ने निष्कर्ष

बाढीपहिरोको विपत्, पार्टीभित्रको सहमति प्रयास र समय अभावलाई कारण देखाउँदै कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका फेरबदल गरेको छ । संशोधित कार्यतालिकाअनुसार वडा, गाउँ–नगर र प्रदेशस्तरीय अधिवेशन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइने भए पनि जिल्ला र प्रदेश अधिवेशन भने १५औँ महाधिवेशनपछि मात्र गर्ने उल्लेख छ ।

मंगलबार बसेको निर्वाचन समितिको बैठकले वडा अधिवेशन ३ र ४ असोज तथा गाउँ–नगर अधिवेशन ७ असोजमा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन १० असोजमा गर्ने र केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म काठमाडौंमा सम्पन्न गर्ने तयारी छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने स्थानीय समन्वयमा अधिवेशन गरिनेछ ।

बाढी विपत् र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले दाबी गरेको छ । वडा अधिवेशनको मिति दुईपटक धकेलिएको हो । सुरुमा २ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका थियो ।

३ र ४ असोजमा देशभरका ६ हजार ७४३ वटै वडामा अधिवेशन सम्पन्न गरी वडा कार्यसमिति निर्वाचित गर्ने तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । त्यसपछि ७ असोजमा गाउँ–नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ ।

प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन १० असोजमा र केन्द्रीय महाधिवेशन १६, १७, १८ र १९ असोजमा सम्पन्न गर्ने कार्यतालिका रहेको निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताए ।

क्षेत्रीय अधिवेशन र महाधिवेशनबिच पाँच दिनको मात्र अन्तर रहेकाले जिल्ला तथा प्रदेश अधिवेशन १५औँ महाधिवेशनपछि गर्ने निष्कर्षमा कांग्रेस पुगेको हो । उक्त अवधिमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्भव नहुने भएकाले महाधिवेशनपछि अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताए । ‘समयले भ्यायो भने केन्द्रीय महाधिवेशनभन्दा अगाडि नै जिल्ला र प्रदेश अधिवेशन हुन्छ । भ्याएन भने महाधिवेशनपछि गर्दा पनि फरक पर्दैन । महाधिवेशनअघि गर्नुपर्ने अधिवेशन भने अब तोकिएकै समयमा हुन्छ,’ खड्काले नयाँ पत्रिकासँग भने ।

१६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राख्दै कांग्रेसले पहिलो चरणमा विभिन्न तह र निकायका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको खड्काले बताए । ‘भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपत्ति र जनधनको क्षतिका कारण सिंगो देश शोकमा छ । बाढी प्रभावित क्षेत्रबाहेक देशका अन्य भू–भागका हजारौँ नागरिकसमेत प्रभावित भएको अवस्थामा विभिन्न जिल्ला र क्षेत्रबाट आएका राय, सुझावलाई समेत ध्यानमा राखेर पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो,’ खड्काले भने ।

जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समिति संयोजक खड्काले बताए । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृत तथा पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने निर्णय निर्वाचन समितिले गरेको छ । त्यस्तै, नेपाली जनसम्पर्क समितिको अधिवेशन हुन बाँकी रहेका देशमा १० असोजभित्र अधिवेशन सम्पन्न गरिनेछ ।

सार्वजनिक कार्यतालिकाअनुसार निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई निर्वाचन समितिले आग्रह गरेको छ ।

केन्द्रीय नेता पनि वडा हुँदै आउनुपर्ने, को–को हुन्छन् महाधिवेशन प्रतिनिधि ?

समय अभावका कारण जिल्ला तथा प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने अवस्था आए पनि कांग्रेसको नेतृत्व चयनको प्रक्रिया भने तल्लो तहबाटै सुरु हुने प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार वडा, पालिका हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले केन्द्रीय नेतृत्वमा पुग्न चाहने नेताहरूले पनि यही प्रक्रियाबाट अघि बढ्नुपर्नेछ । ‘वडा, पालिका हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला सभापति पनि वडा हुँदै निर्वाचित भएर आउनुपर्छ । महाधिवेशन प्रतिनिधि नभई जिल्ला सभापति हुन पाइँदैन । केन्द्रीय सदस्य र पदाधिकारी पनि वडा हुँदै प्रतिनिधि चयन भएर आउनुपर्छ,’ चालिसेले भने । उनले नेतृत्वमा पुग्दैमा सधैँ नेतृत्वमै रहिरहने अवस्था नहुने पनि बताए । ‘एकचोटि नेता हुँदैमा सधैँको नेता हुन सक्दैन । नेता भइरहन अनुमोदित हुनुपर्छ,’ उनले भने ।

त्यसैबिच एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्रियाशील सदस्यमध्येबाट जिल्ला अधिवेशन प्रतिनिधिले आफूमध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिसहित ३१ जना महाधिवेशन प्रतिनिधि हुन्छन् । यस्तै, क्रियाशील सदस्यमध्येबाट दुई वा सोभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रतिनिधिले आफूमध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापतिसहित ३१ जना महाधिवेशन प्रतिनिधि आउँछन् । यस्तै, तोकिएबमोजिमका भ्रातृ संघको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि, तोकिएबमोजिम विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि र मनोनीत महाधिवेशन प्रतिनिधि रहन्छन् ।

केन्द्रीय सभापतिले कांग्रेसको क्रियाशील सदस्यमध्येबाट महाधिवेशनका लागि बढीमा ७५ जना प्रतिनिधि मनोनीत गर्न सक्छ । यसरी मनोनीत गर्दा महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, खसआर्य, अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्र, तेस्रोलिंगी, अन्य पेसा व्यवसाय र विषयविज्ञको रूपमा क्रियाशील रहेका विशिष्ट व्यक्ति एवं लोकतन्त्रको स्थापना र पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका व्यक्तिमध्येबाट प्राथमिकता दिनुपर्ने वैधानिक व्यवस्था छ ।

सुझावित समाचार