कास्कीमा पहिरो र फेवातालमा डुबेर तीनजनाको मृत्यु

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

 कास्कीमा पहिरोमा परी दुईजना तथा फेवातालमा डुबेर एकजनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित निर्माणाधीन २४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा माथिबाट अचानक आएको पहिरोमा परी दुईजनाको मृत्यु भएको हो। घटनामा एकजना घाइते भएका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार पहिरोमा परी घाइते भएका तीनजनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका–८ घर भई हाल आयोजनामा काम गर्दै आएका २६ वर्षीय आयुष राई र खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका–१ घर भएका २७ वर्षीय किसान राई रहेका छन्।

घाइतेमध्ये इलाम जिल्लाका ३२ वर्षीय भक्तबहादुर मगरको उपचार भइरहेको छ। उनको टाउको र घुँडामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको जनाइएको छ। यसैगरी, फेवातालमा डुबेर उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ। फेवातालमा घुम्न आएका तामाङ कायाकिङ गर्ने क्रममा तालमा डुबेका थिए।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमान्डमा खटिएको विपत् उद्धार टोली (गोताखोर)ले आवश्यक उद्धार सामग्रीसहित खोजतलासका क्रममा अन्दाजी ३० फिट गहिराइबाट तामाङलाई अचेत अवस्थामा फेलापारी तालबाट बाहिर निकालेर उपचारका लागि अस्पताल पठाएकामा उपचारका क्रममा उनको मृत्यु भएको बरालले जानकारी दिए ।

सुझावित समाचार