बाढीपछि उद्धार र राहत वितरणको काम कसरी चलिरहेको छ ?
उद्धारको कार्य त हामीले १० गते बाढी जानासाथै सुरु गर्यौँ । सबैभन्दा पहिले हामीले प्रभावितको जीवनरक्षालाई प्राथमिकता दिएर उद्धार कार्यलाई अघि बढायौँ । प्रभावितलाई तत्काल होल्डिङ सेन्टरमा राखियो । त्यहाँ, उहाँहरूको बसोवास, खानपिन, उपचार आदिको प्रबन्ध मिलाइयो । त्यसपछि हामीले महामारीको समेत सम्भावनालाई ध्यानमा राखेर शव संकलन र व्यवस्थापनमा ध्यान केन्द्रित गर्यौँ । यस कार्यमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरीसँगै हामी जनप्रतिनिधि र स्थानीय स्वयंसेवक सबै खटियौँ । अहिले राहतका लागि खाद्यान्न हामीसित पर्याप्त छ । होल्डिङ सेन्टरबाहेक पनि प्रभावितको घरघरमा समेत राहत सामग्री पठाइरहेका छौँ ।
यस कार्यमा तीनै तहका सरकारबिच के–कस्तो समन्वय भइरहेको छ ?
बाढी प्रभावितको उद्धार र राहत वितरणमा तीनै तहका सरकारबिच अत्यन्त राम्रो समन्वय छ । बाहिर चलेको हल्लाजस्तो केही छैन । हामी सँगसँगै छौँ । संघ र प्रदेशले हामीसँगै समन्वय गरिरहेका छन् । बाढी गएकै दिनमा बागमती प्रदेशका मुख्यमन्त्री क्याबिनेटका मन्त्रीहरूसँगै आउनुभएको थियो । पछि प्रधानमन्त्री पनि आउनुभयो । सबै काम हामीले सँगसँगै हातेमालो गरेर संघको नीतिअनुसार नै अघि बढाइरहेका छौँ ।
त्रिशूलीपारि राहत पुग्न सकेको छैन भन्ने गुनासा पनि सुनिन्छन् नि ?
हो, सुरुसुरुका दिनमा चाहिँ गुनासो थियो । पछि हामीले हेलिकोप्टरबाट त्रिशूलीपारिका प्रभावितकहाँ राहत पठायौँ । यसको जिम्मा सशस्त्र प्रहरीले लिएको छ । अहिले वडाले माग गर्नासाथ पारि राहत पठाउने व्यवस्था मिलाएका छौँ । अब हामीले वारि र पारिबिच ‘कनेक्टिभिटी’को पहल गर्दै छौँ । त्रिशूलीमा तुइनमार्फत दुई किनारालाई जोड्ने काम भएको छ । अब त्यहाँ झोलुंगे पुलको सम्भाव्यता अध्ययन पनि भइरहेको छ । देवीघाटमा पनि पल्लो किनारालाई जोड्ने गरी तुइन राख्ने तयारी सुरु भएको छ । गल्छी–देवीघाट सडकमा पर्ने तादी खोलामाथि बेलिब्रिज राख्ने काम बिहीबारदेखि सुरु भएको छ । यी सबै कार्यमा तीनै तहका सरकार सँगसँगै छन् ।