बाढीबाट प्रभावित विद्यार्थीलाई पढाउने तयारी

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

बाढीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढाइ छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ । शिक्षा मन्त्रालयले प्रदेश, स्थानीय तह र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावकसँगको समन्वयमा विद्यार्थीलाई पठनपाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो । 

मन्त्रालयले बुधबारदेखि नै शिक्षा क्षेत्रमा भएको क्षतिको सूक्ष्म अध्ययन थालेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार बुधबारदेखि बाढीपीडित क्षेत्रको शिक्षाको वास्तविकता बुझ्न मन्त्रालयले सात सदस्यीय टोली परिचालन गरेको छ । टोलीले एक सातामा अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ । त्यसपछि बल्ल शैक्षिक क्रियाकलापको तयारी गरिने उनको भनाइ छ । 

‘बुधबारदेखि दुई जिल्लाको शिक्षामा भएको क्षतिबारे द्रुत सर्वेक्षणका लागि टोली पुगेको छ । प्रदेश प्रतिनिधि र स्थानीय प्रतिनिधि पनि त्यसमा सहभागी हुनुहुन्छ, कुन विद्यालय कहाँ व्यवस्थापन गर्ने, बालबालिका कस्तो अवस्थामा छन् भन्नेबारेमा अध्ययन हुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँहरूलाई मनोसामाजिक परामर्श दिने, घटना बिर्साउने कार्यक्रम गर्ने र बिस्तारै पढाइमा जोड्ने काम हुन्छ, तर उनीहरूलाई नियमित पढाइमा लैजानुअघि धेरै नै काउन्सिलिङको आवश्यकता पर्ने देखिन्छ ।’ 

भट्टराईका अनुसार हालसम्म प्रारम्भिक अध्ययन मात्रै भएको छ । बाढीमा २४१ भन्दा बढी विद्यार्थीको मृत्यु भएको र १६ शिक्षक बेपत्ता भएको तथ्यांक आएको छ । त्यस्तै, एक हजार ६०० विद्यार्थी अभिभावकविहीन भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । टोलीले अध्ययन गरेपछि शैक्षिक कार्यक्रम सञ्चालनको मोडालिटी तयार गरिने छ । उनीहरूलाई होल्डिङ सेन्टर वा अन्य स्थानमा पायक पर्ने गरी पठनपाठनमा जोडिने मन्त्रालयको तयारी छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार नुवाकोट र रसुवामा बाढीका कारण २३ विद्यालयमा क्षति पुगेको छ । त्यसमध्ये आठ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । जसमा सामुदायिक विद्यालयतर्फ रसुवाका नेपाल राष्ट्रिय आधारभूत, चिप्लेटी आधारभूत र मालिका देवी आधारभूत विद्यालय तथा नुवाकोटका रामचन्द्र आधारभूत र त्रिभुवन त्रिशूली मावि क्षतिग्रस्त भएका छन् । निजीतर्फ नुवाकोटका उत्तरगया पब्लिक बोर्डिङ र त्रिशूली सामुदायिक बोर्डिङ तथा रसुवाको मोडर्न ट्रिनिटी स्कुल क्षतिग्रस्त भएका हुन् । आठै विद्यालय रहेको ठाउँ र सबै संरचना खण्डहर बनेका छन् । 

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रारम्भिक रूपमा विद्यार्थीको पढाइबारे छलफल भए पनि शिक्षा मन्त्रालयले अध्ययन गरेर पढाइको विषयमा यकिन गर्ने बताइन् । ‘धेरै विद्यालयमा क्षति पुगेको छ, थुप्रै विद्यार्थी बेपत्ता हुनुहुन्छ, कतिपयको अभिभावक बेपत्ता हुनुहुन्छ, सबै कुरा यकिन गरेपछि बालबालिकालाई पठनपाठनमा नियमित गर्नुपर्छ,’ उनले भनिन्, ‘राष्ट्रिय योजना आयोगले गरेको क्षतिको विवरण बिहीबार आउँदै छ, त्यसपछि विद्यालय कसरी सञ्चालन गर्ने र बालबालिकालाई कसरी शिक्षामा फर्काउने शिक्षा मन्त्रालयसँग कुराकानी गर्छौँ ।’ 

सुझावित समाचार