गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका रामेछापका ७९ मध्ये ३५ जना सम्पर्कमा आएका छन् भने अझै ४४ जना सम्पर्कविहीन रहेका छन् ।
सम्पर्कविहीन भएका अधिकांश नागरिकहरू रसुवाको टिमुरेलगायत बाढी प्रभावित क्षेत्रबाट हराएको सूचना आफन्तहरूले प्रहरीमा टिपाएका छन्। सो क्षेत्रको बाटो हुँदै कतिपय नागरिक गोसाईंकुण्डतर्फ तीर्थयात्रा गर्न गएका थिए। कोही त्यस क्षेत्रमा रहेका हाइड्रोपावर कम्पनीमा कार्यरत कर्मचारी रहेका छन् भने केही उक्त क्षेत्रमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीहरूसमेत रहेका छन् ।
यसबाहेक सम्पर्कविहीन हुनेहरूमा केही गाडीचालकहरूसमेत रहेका छन्। सम्पर्कविहीन रहेका व्यक्तिका परिवारका सदस्यहरूले रसुवामा आएको बाढीपछि परिवारबाट सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन प्रहरीमा आफन्तहरुले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।
बाढी आउनु केही समयअघिसम्म टेलिफोन सम्पर्कमा रहेका आफन्तहरूले रसुवाको टिमुरे क्षेत्रआसपास रहेको र घर फर्कन लागेको भन्दै परिवारमा टेलिफोनमार्फत जानकारी गराएका थिए। पछि सो क्षेत्रमा बाढी आएपछि सबैसँग सम्पर्कविहीन हुन पुगेको परिवारका सदस्यहरूले प्रहरीलाई जानकारी गराएका छन्। उक्त घटनापछि प्रहरीले सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीकार्य भइरहेको र हालसम्म पनि अन्य थप कुनै व्यक्ति सम्पर्कमा नआएको अधिकारी राउतले बताए ।