बाढीपहिरोका कारण विद्युत् सेवा अवरुद्ध भएका जिल्लामा आपूर्ति पुनर्स्थापनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका पाँच स्थानमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति नियमित भइसकेको छ भने रसुवामा एक साताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सिन्धुपाल्चोकबाट लाइन तानेर नुवाकोटको खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्यामा विद्युत् आपूर्ति नियमित गरिएको हो।
नुवाकोटका बाँकी क्षेत्रमा पनि आजै विद्युत् पुर्याउने प्रयास भइरहेको उनले बताए। बालाजु र त्रिशूलीतर्फको ६६ केभी लाइन पुगेका स्थानबाट ११ केभी लाइन विस्तार गरी विद्युत् आपूर्ति गर्ने काम भइरहेको छ।
आज दिउँसो ३ बजेसम्म नुवाकोट जिल्लाभर विद्युत् पुर्याउने प्रयास भइरहेको छ, शाहीले जानकारी दिए। यसैगरी मलेखुको गजुरी र मुग्लिन क्षेत्रमा विद्युत् आपूर्ति नियमित भइसकेको छ। धादिङबेँसी–रातोमाटे ३३ केभी लाइन पनि सञ्चालनमा आएपछि उक्त क्षेत्रमा विद्युत् सेवा पुनः सुरु भएको प्राधिकरणले जनाएको छ।
रसुवामा एक साताभित्र बिजुली पुर्याउने लक्ष्य
बाढीपहिरोबाट विद्युत् संरचनामा ठुलो क्षति पुगेको रसुवामा भने पुनर्स्थापनाको कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ। प्रधानमन्त्री कार्यालय र विपत् प्राधिकरणसँग समन्वय गरी क्षतिको विवरण संकलन तथा मूल्यांकन भइरहेको शाहीले बताए।
उनका अनुसार एक साताभित्र रसुवामा विद्युत् सेवा नियमित गर्ने लक्ष्य राखिएको छ। क्षतिको अवस्था र भौगोलिक कठिनाइअनुसार पुनर्स्थापनाको काम अघि बढाइनेछ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको पहल तथा सक्रियतामा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ। विद्युत् पुनर्स्थापनासँगै अहिले उद्धार कार्यलाई समेत प्राथमिकतामा राखिएको छ।
नुवाकोटमा वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति विस्तार भइरहेको अवस्थामा रसुवाका प्रभावित बस्तीमा भने कहिले नियमित बिजुली पुग्छ भन्ने चासो बढेको छ। मन्त्रालयले राखेको लक्ष्यअनुसार काम अघि बढेमा रसुवामा एक साताभित्र विद्युत् सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।