रसुवा बाढी प्रभावित क्षेत्रको उद्धारमा खटिने हेलिकाेप्टरमा हवाई इन्धन भर्नका लागि आयल निगमले १६ हजार लिटर इन्धन बोकेको रिफ्युलर प्रभावित क्षेत्रमा पठाएको छ। आयल निगमको हवाई इन्धन डिपो, सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार उद्धारमा खटिने हेलिकाेप्टरलाई इन्धन भर्न सहज हुने गरी रिफ्युलर पठाइएको हो ।
‘हामीले १६ हजार लिटर हवाई इन्धन बोकेको रिफ्युलर दिउँसो साढे १ बजे सिनामंगलबाट पठाएका छौँ । यो रिफ्युलर नुवाकोटस्थित नेपाल आर्मीको ब्यारेकमा रहनेछ । त्यहाँ आएर उद्धारमा खटिएका हेलिकाेप्टरले तेल भर्न सजिलो हुने अपेक्षा छ,’ उनले भने, ‘रिफ्युलर लैजानका लागि आर्मीको एकजना प्रतिनिधि पनि सँगै हुनुहुन्छ । आयल निगमको तीनजना कर्मचारीसहित रिफ्ययुलर प्रभावित क्षेत्रमा पठाइएको छ ।’
नागरिक उड्डयन प्राधिकरण र आर्मीसँग सल्लाह गरेर रिफ्युलर पठाएको उनले जानकारी दिए । सिनामंगल डिपोमा कार्यरत निगमको उपनिर्देशक रामहरि निरौलाका अनुसार नुवोकाटस्थित आर्मीको ब्यारेकसम्म रिफ्युलर पुग्न नसके धादिङको गजुरी ब्यारेकमा गएर बस्नेछ । ‘प्रभावित क्षेत्रको नजिकसम्म पुग्ने प्रयास हुनेछ,’ उनले भने, ‘बाटोको सुविधाले जहाँसम्म रिफ्युलर जान सक्छ, त्यहाँसम्म लैजाने हो ।’
प्रभावित क्षेत्रको उद्धारमा खटिने हेलिकाेप्टरमा हवाई इन्धन सकिए काठमाडौं आउनुपर्ने बाध्यता हटाएर नजिकै रिफ्युलरको व्यवस्था गरिएको निगमले जनाएको छ । ‘काठमाडौंसम्म इन्धन भरेर जाँदा उद्धारमा ढिलाइ हुन सक्छ । त्यसैले जतिसक्दो नजिकैको दूरीमा इन्धन उपलब्ध गराउन खोजिएको हो,’ निगमको सिनामंगल डिपो प्रमुख यादवले भने, ‘रिफ्युलरमा रहेको पाइपबाट सोझै हेलिकाेप्टरको ट्यांकीमा इन्धन भर्ने हुँदा कुनै समस्या पनि हुँदैन ।’