२०औँ एसियाली खेलकुद तयारी समितिका संयोजक दीपक विष्टलाई ३ प्रश्न

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

एसियन गेम्सको तयारी कस्तो भइरहेको छ ?
हामीले विगत तीन वर्षदेखि ‘मिसन २०२६’ तय गरेर १० वटा खेलको विशेष तयारी गर्दै आएका थियौँ । यस क्रममा थप १२ वटा अन्य खेल थपेर हाल २२ वटै खेलको विशेष तयारी चलिरहेको छ । यीमध्ये अधिकांश खेलको प्रशिक्षण र अभ्यास विदेशी भूमिमा भइरहेको छ । कबड्डी टोली भारतमा छ । उसले त्यहाँका कलेज टिमसँग खेलिरहेको छ । बक्सिङको पनि भारतमै अभ्यास भइरहेको छ । करातेका लागि छिटै जापान जाने तयारी भइरहेको छ । तर, खेलाडी र प्रशिक्षकले जतिसुकै बल लगाए पनि ठुला र बलिया प्रतिद्वन्द्वी देशलाई जित्ने हो भने हामीले व्यवस्थापन र लगानीमा पनि उनीहरूलाई जित्नुपर्छ । राज्यले खेलकुदका लागि कति लगानी गरेको छ, त्यसमा पनि आगामी सफलता निर्धारण हुन्छ ।

विगतको भन्दा यसपटकको सहभागिता कुन अर्थमा फरक हुनेछ ?
अवश्य नै यसपटकको सहभागिता विगतमा भन्दा फरक हुनेछ । हामीले मिसन २०२६ तय गरेर विगतका तीन वर्षमा जहाँ–जहाँ जुन–जुन खेलमा प्रतिस्पर्धा गरेका छौँ, तिनमा हाम्रा खेलाडीले पाएको सफलताले आगामी एसियन गेम्समा इतिहास रच्न सक्ने विश्वास गरेका छौँ । त्यसका लागि हामीले अनुशासित ढंगमा तयारी पनि गरिरहेका छौँ । 

स्वर्णसहित दोहोरो अंकको पदक जित्ने लक्ष्य पूरा हुनेमा कति विश्वस्त हुनुहुन्छ ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ, ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’ म स्वयंले विगतमा खेल्न जाँदा पनि भविष्यवाणी नै नगरे पनि हरेकपटक स्वर्ण जित्ने लक्ष्य लिएर गएको हुन्थेँ । अहिले पनि हामी स्वर्ण जितेर इतिहास रच्ने तयारी गरिरहेका छौँ । विगतमा आठ पदक जितेको नेपालले कम्तीमा थप दुई पदक जितेर १० वा सोभन्दा बढी पुर्याउन र कम्तीमा एउटा स्वर्ण जित्न कठिन छैन । त्यसैले, म यो लक्ष्य पूरा हुनेमा आशावादी छु । 

सुझावित समाचार