बागमती प्रदेश सभा बैठक फेरि सर्‍यो, राति ८ बजेका लागि तोकियो समय

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सभाको सोमबार साँझ ५ बजेका लागि तय गरिएको बैठक पुनः स्थगित गर्दै राति ८ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले बैठकको समय परिवर्तन गरिएको जनाएको हो।

प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनाअनुसार प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सोमबार नै राति ८ बजे बस्ने गरी निर्धारण गरेका छन्।

मुख्यमन्त्री किरण थापामगरले यही बैठकबाट नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने कार्यसूची छ। विश्वासको मतलाई लिएर दिनभर सत्तापक्ष र विपक्षी दलबिच तीव्र राजनीतिक छलफल, राप्रपाभित्रको विवाद, मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा परेको रिट तथा कांग्रेसले बैठक स्थगित गर्न गरेको औपचारिक मागका कारण बैठक पटक–पटक सारिएको हो।

यसअघि प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो। दलहरूबिच सहमति जुट्न नसकेपछि बैठक पहिलोपटक साँझ ५ बजेसम्मका लागि सारिएको थियो। तर, साँझसम्म पनि सहमति नजुटेपछि सचिवालयले दोस्रोपटक सूचना जारी गर्दै बैठक राति ८ बजे बस्ने जनाएको छ।

सुझावित समाचार