दोहोरो विपतकाे मारमा जाजरकोट

भेरीका पहिरोपीडित २३७ परिवारको बास स्कुल र टेन्टमा, जुनीचाँदे र नलगाडका ६६ परिवार आफन्तको शरणमा

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण
दोहोरो विपतकाे मारमा जाजरकोट

३० साउनको पहिरोले क्षतिग्रस्त भेरी नगरपालिका– २ रिसाङको चिसापानी क्षेत्र र रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयछेउमा पीडितलाई राख्न मकैबारी फाँडेर बनाइएको अस्थायी शिविर

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती भन्छन्– विद्यालयमा पढाइ प्रभावित हुने भएकाले आफन्त र अस्थायी टेन्टमा राख्ने तयारी छ । त्रिभुवन विद्यालयमा रहेका एक सय ५० परिवारमध्ये सबैजसोलाई नजिकै टेन्ट बनाएर राखेका छौँ । खानाका लागि एकीकृत मेस चलाएका छौँ ।

झन्डै तीन वर्षअघि भूकम्पको चपेटामा परेको जाजरकोट फेरि बाढीपहिरो गएपछि भेरी नगरपालिका, नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका तीन सय तीन घरपरिवार विस्थापित भएका छन् । गत साउन अन्तिम साता र भदौ पहिलो साताको बाढीपहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएका, आंशिक क्षति र पहिरोको उच्च जोखिममा रहेका परिवार अहिले सार्वजनिक विद्यालय, आश्रम, टेन्ट र आफन्तको आश्रयमा पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकाका पहिरोपीडित २३७ परिवार विद्यालय, आश्रम र टेन्टमा बसिरहेका हुन् भने जुनीचाँदेका बाढीपीडित ६० परिवार आफन्तको शरणमा छन् । त्यस्तै, नलगाडका पहिरोपीडित ६ घरपरिवार पनि आफन्तको शरणमा छन् ।

भेरी नगरपालिका–२ रिसाङमा गत ३० साउनमा गएको पहिरोमा परी चारजनाको मृत्यु भएको थियो । रिसाङआसपासका बस्तीका १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । तीन सय घरपरिवार पहिरोको जोखिममा छन् । तीमध्ये २३७ परिवार विस्थापित भएको भेरी नगरपालिका विपत् व्यवस्थापन शाखाले जनाएको छ । उनीहरू चारवटा आश्रयस्थलमा बसेका छन् । रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालय छेउमा बनाइएको टेन्टमा एक सय ५०, घदार्नेटास्थित विष्णु प्राथमिक विद्यालयमा ६५ घरपरिवार र स्यालास्थित विजय प्राथमिक विद्यालयमा १५ परिवार तथा थाप्लेमा रहेको महिला आश्रममा सात परिवार बसिरहेका छन् । 

भेरी नगरपालिका–२ बासपानीकी धनसरी कामी भन्छिन्–  घर पनि रहेन, अन्नपात पनि सबै बगायो । सरकारले बनाइदिएको यही सेल्टरमा बस्नुपरेको छ । अहिलेसम्म सरकारले ओढ्ने–ओछ्याउनेबाहेक अरू कुनै व्यवस्था गरेको छैन । अब कसरी बाँच्ने भन्ने चिन्ता छ । 

विद्यालयमा पढाइ प्रभावित हुने भएकाले आफन्त र अस्थायी टेन्टमा राख्ने तयारी भइरहेको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । ‘विद्यालयमा पढाइ प्रभावित हुने भएकाले आफन्त र अस्थायी टेन्टमा राख्ने तयारी छ । त्रिभुवन विद्यालयमा रहेका एक सय ५० परिवारमध्ये सबैजसोलाई नजिकै टेन्ट बनाएर राखेका छौँ,’ घर्तीले भने, ‘खानाका लागि एकीकृत मेस चलाएका छौँ । अहिले तथ्यांक संकलनको काम भइरहेको छ । अब अस्थायी आवासको प्रबन्ध गर्छाैं ।’ 

लामो समय विद्यालयमा बस्दा पठनपाठन प्रभावित हुने भएपछि मकैबारी फाँडेर अस्थायी सेल्टर बनाइएको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीको सिफारिसमा भेरी नगरपालिका–२ रिसाङमा १९ वटा अस्थायी संरचना निर्माण गरी विद्यालयमा रहेका प्रभावितलाई स्थानान्तरण गरिएको छ । जग्गाको भाडा भेरी नगरपालिकाले व्यहोर्नेछ ।

जुनीचाँदे–६ डोग्रामा सेती र छिर्के खोलामा ३ र ५ गते बाढीमा परी दुईजना बेपत्ता भएका थिए । खोलाले चार घर क्षतिग्रस्त बनाएको थियो । त्यहाँ बगरमा रहेका घर जोखिममा परेपछि विस्थापित भएका हुन् । उनीहरू आफन्तकहाँ बसिरहेको प्रशासनले जनाएको छ । नलगाडमा गत २८ साउनमा पहिरो खस्दा चार घर भत्किएका थिए भने दुई घर जोखिममा छन् । 
भेरी–२ रिसाङका दुई सय प्रभावित परिवारलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चको सहयोगमा करिब २३ लाख रुपैयाँबराबरको गैरखाद्य राहत सामग्री (त्रिपाल, समर ब्ल्यांकेट, किचेन सेट, डिग्निटी किट) वितरण गरिएको छ ।

भेरी नगरपालिका–२ घुनस गाउँकी ढोलेनी पुन भन्छिन्– सरकारले अहिलेसम्म राम्रोसँग हेरचाह गरेको छैन । बिरामी भएर पनि यही सेल्टरमा सुतिरहेकी छु । घर छाडे पनि घरमा रहेका पशुचौपाया जोगाउन बिहानसाँझ ज्यान जोखिममा राखेर पुग्नुपर्ने बाध्यता छ ।

भूकम्पको घाउ नपुरिँदै बाढीपहिरोले उठीवास
भूकम्पले चर्किएका घरमा जसोतसो गुजारा चलाउँदै आएका जाजरकोटका बासिन्दालाई पहिरोले फेरि उठिवास लगाएको छ । भूकम्पको घाउ निको नहुँदै आएको प्राकृतिक विपत्तिले यहाँका सयौँ परिवारको ओत लाग्ने थलो बगाएको छ ।
भेरी नगरपालिका–३ का पूर्णबहादुर विक भूकम्पले कमजोर बनाएको घरमा मर्मतसम्भार गरेर बसिरहेका थिए । तर, ३० साउनमा घरमाथिबाट खसेको पहिरोले विकको ओत मात्र खोसेन, उठिवास नै गरायो ।

अहिले उनको परिवार स्थानीय विजय आधारभूत विद्यालय स्यालामा अस्थायी आश्रय लिएर बसिरहेको छ । ‘भूकम्पले घर चर्किएपछि पनि त्यही घरमा दुःख गरेर गुजारा चलाएका थियौँ । अहिले पहिरोले घर नै लग्यो । ज्यान जोगाउन भाग्यौँ । घरमा भएका सबै सामान पहिरोले लग्यो,’ विकले भने, ‘अहिले परिवारसहित स्कुलमा अस्थायी रूपमा बसिरहेका छौँ । राज्यले हामीलाई ध्यान दिएको छैन ।’

आफन्तको घरमा किरिया,शिविरमा सामूहिक खाना
पहिरोका कारण भेरी नगरपालिकामा चारजनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । मृतक परिवारका घर नै पहिरोले पुरेकाले उनीहरू आफन्तको घरमा किरिया बस्न बाध्य छन् ।पहिरोमा ज्यान गुमाएका भीमबहादुर कार्कीका तीन छोरा चिसापानीबाट सदरमुकाम खलंगामा किरिया बसिरहेका छन् । खत्री परिवारले पनि आफन्त झुपलाल खत्रीको घरमा किरियाको काम गरिरहेको छ । वडाध्यक्ष भीमबहादुर कार्की भन्छन्, ‘एक त जुठो, त्यसैमा शिविरको सामूहिक खाना, सुताइको व्यवस्था पनि राम्रो नहुँदा अधिकांशमा स्वास्थ्य समस्या देखिएको छ ।’

बेपत्ता दुईजनाको खोजी जारी
जुनीचाँदे गाउँपालिकामा बाढीपहिरोमा परी बेपत्ता भएका दुईजनाको अवस्था अझै अज्ञात छ । जुनीचाँदे–६ डोग्रामा खोला थुनिएर फुट्दा ६४ वर्षीय देवबहादुर सिंह र छिर्का टोलकी ३९ वर्षीया रचना थापा सेती खोलाले बगाएर बेपत्ता भएका हुन् । बाढीले ८ देखि १० वटा पानीघट्टसमेत बगाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि खोजीमा जुटे पनि निरन्तरको वर्षा र दुर्गम भूगोलका कारण उद्धारमा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार भौगोलिक रूपमा जुनीचाँदे दुर्गम क्षेत्रमा पर्छ । बर्खायाममा कच्ची सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा सवारीसाधनबाट पुग्न सक्ने अवस्था छैन । पैदल मार्गबाटै जानुपर्ने भएकाले राहत, खोजी तथा उद्धारमा थप चुनौती भएको छ ।

अस्थायी सेल्टरमा पनि उस्तै सास्ती र चिन्ता
भेरी नगरपालिका–२ रिसाङ र घुनस गाउँका प्रभावितको पीडा पनि फरक छैन । पहिरोले घरवास गुमाएका अहिले सरकारले निर्माण गरेको अस्थायी सेल्टरमा त पुगेका छन् । तर, गाँस र कपासको चिन्ताले छाडेको छैन ।भेरी नगरपालिका–२ बासपानीकी धनसरी कामी भूकम्पपछि अस्थायी आवासमा थिइन् । रिसाङमा आएको पहिरोले त्यो आवाससमेत बगाएपछि उनी सेल्टरमा आइपुगेकी छिन् । बिहान बाँकी रहेको जग्गामा काम गर्न जाने र साँझ सेल्टर फर्किने गरेकी धनसरी भन्छिन्, ‘घर पनि रहेन, अन्नपात पनि सबै बगायो । अब सरकारले बनाइदिएको यही सेल्टरमा बस्नुपरेको छ । अहिलेसम्म सरकारले ओढ्ने–ओछ्याउनेबाहेक अरू कुनै व्यवस्था गरेको छैन । अब कसरी बाँच्ने भन्ने चिन्ता छ ।’ 

घुनस गाउँकी ढोलेनी पुन पहिरोको जोखिममा परेको घर छाडेर बिरामी अवस्थामै सेल्टरको भुइँमा सुत्न बाध्य छिन् । ‘सरकारले अहिलेसम्म राम्रोसँग हेरचाह गरेको छैन । बिरामी भएर पनि यही सेल्टरमा सुतिरहेकी छु,’ उनले भनिन् । घर छाडे पनि घरमा रहेका पशुचौपाया जोगाउन बिहानसाँझ ज्यान जोखिममा राखेर पुग्नुपर्ने बाध्यता उनको छ ।’ सोही वडाकी दीपा थापाले कोचाकोच गरेर बस्नुपरेको पीडा सुनाइन् । ‘एउटै कोठामा आठजना बस्नुपरेको छ । सरकारले अस्थायी आवासमा अहिलेसम्म ध्यान दिएको छैन,’ दीपाले भनिन् ।

कर्णालीले खटायो स्वास्थ्यकर्मी
कर्णाली प्रदेशले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटाएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा औषधि र जनशक्ति अभाव हुन नदिन डा. कुलराज शाही, अहेव चन्द्र शाही, ल्याब सहायक निर्मल बुढा र नर्सिङ अधिकृत रत्ना दैबोटालाई अस्पतालमा खटाइएको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले क्षतिको विवरण संकलन भइरहेको र लगत्तै बजेट प्रबन्ध गरेर काम अघि बढाउने बताए । ‘तथ्यांक आउनासाथ आवश्यक बजेटको प्रबन्ध मिलाएर पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाउँछौँ,’ शाहीले भने, ‘विपत्पछि जाजरकोटका नागरिकको जीवनस्तर कसरी सामान्य अवस्थामा फर्काउने भन्ने विषयमा प्रदेश सरकार गम्भीर छ ।’

सुझावित समाचार