- द्वन्द्व चर्काउने अर्को प्रयास पनि असफल भएपछि युक्रेनसामु अब दुई विकल्प छन्– युद्ध जारी राखेर क्षति व्यहोर्ने वा पुटिनकै सर्तमा शान्ति वार्ता गर्ने
युद्ध अन्त्य गर्न रुसमाथि ‘दबाब सिर्जना गर्ने’ उद्देश्यले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले चलाएको ४० दिने अभियान गत साता खासै चर्चाविना समाप्त भयो । मस्कोलाई युक्रेनका सर्त मान्न बाध्य पार्ने लक्ष्यका साथ लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरी तीव्र आक्रमण गर्नु यस अभियानको मुख्य रणनीति थियो । तर, रणनीतिले काम गरेको देखिएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि युक्रेनलाई कुनै पनि प्रकारको छुट दिन वा किभसँग सम्झौता गर्न तयार छैनन् ।
द्वन्द्व चर्काउने अर्को एउटा प्रयास पनि असफल भएपछि किभ अब अर्को अप्रिय विकल्पको सामना गरिरहेको छ, या त युद्ध जारी राखेर विनाशकारी क्षति व्यहोर्ने वा पुटिनकै सर्तमा शान्ति वार्ता गर्ने । स्मरणीय कुरा के छ भने रुस तत्काल कुनै हालतमा युद्ध अन्त्य गर्ने मनस्थितिमा छैन । रुसी राष्ट्रपतिले यस द्वन्द्वको सुरुवातदेखि नै रुसी दृष्टिकोणको विशेषता रहेको निर्दयिता प्रदर्शन गरिरहेका छन् । युक्रेनले जति लामो समयसम्म प्रतिरोध गर्छ, त्यति नै बढी क्षति भोग्छ । रुसलाई मूर्त रूपमा हानि पुर्याउने कुनै पनि ठुला हमलाको प्रयासले अझ बढी अप्रिय परिणाम निम्त्याउँछ । जेलेन्स्कीको अभियानमा पनि त्यस्तै भयो । युक्रेनी क्षेप्यास्त्र र ड्रोनहरूले रुसका तेल रिफाइनरीमा प्रहार गरे । आक्रमणले रुसमा गम्भीर इन्धन संकट र रुसले कब्जा गरेको क्रिमियामा तीव्र संकट उत्पन्न भयो । हालै, युक्रेनी सेनाले आफ्नो ध्यान रुसी अनलाइन बजार वाइल्डबेरीको रसद केन्द्रमा सारेका छन्, बैंकिङ क्षेत्रलाई कमजोर पार्ने आशामा युक्रेनी सेनाले यस्तो रणनीति चालेको हो । यी आक्रमणले आशातित नतिजा ल्याएनन् । मस्कोले हालैका सातामा इन्धन संकट कम गर्न र प्रमुख पूर्वाधारमा हवाई प्रतिरक्षा बढाउन सक्षम भयो । वाइल्डबेरीले आफ्नो रसद केन्द्रलाई छिमेकी काजाकिस्तानमा सारेर अनुकूलन गरिरहेको छ, जुन रुसी नेतृत्वको भन्सार संघको अंश हो ।
युक्रेनको ‘प्रभाव विस्तार अभियान’को जवाफमा रुसी सेनाले युक्रेनको पूर्वाधारमाथि निर्मम प्रहार गर्यो, जसका कारण कृष्ण सागरस्थित बन्दरगाह बन्द भए । यसले युक्रेनका दुई मुख्य निर्यातयोग्य वस्तु अन्न र खनिजको कारोबार गर्ने कम्पनीमा विनाशकारी असर पारिरहेको छ ।
रुसले ‘इपिसिन्टर’ र ‘रोजेट्का’ जस्ता युक्रेनका प्रमुख खुद्रा विक्रेताका ‘लजिस्टिक हब’ (सामान ओसारपसार तथा भण्डारण केन्द्र) माथि पनि अन्धाधुन्ध आक्रमण गर्यो, जसको परिणामस्वरूप तिनका राजनीतिक रूपमा प्रभावशाली मालिकको व्यवसाय लगभग पूर्ण रूपमा ठप्प भयो । रुसी सेनाले युक्रेनी पेट्रोल पम्प र इन्धन बोक्ने ट्यांकरलाई समेत निसाना बनायो । यसैबिच, पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रको उत्तरी भागमा पर्ने स्लोभियान्स्क–क्रामेटोर्स्क सहरी क्षेत्रमा रुसी आक्रमण जारी छ । साथै, रुसी सेनाले उत्तरमा रुस–युक्रेन सीमावर्ती क्षेत्रका भूभाग कब्जा गरेर एउटा सुरक्षा घेरा निर्माण गरिरहेको छ ।
जुलाईमा अंकारामा भएको नेटो शिखर सम्मेलनअघि घोषणा गरिएको युक्रेनको सैन्य सक्रियतामा वृद्धि र त्यससँगै चलाइएको ‘परिस्थिति आफ्नो पक्षमा मोड्दै गरेको’ दाबीसहितको सञ्चार अभियानको उद्देश्य युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा परिवर्तन गर्नु थियो । अंकारामा यो प्रयास सफल भएकोजस्तो देखिन्थ्यो । तर, ट्रम्पका पछिल्ला भनाइले उनले आफ्नो अडान परिवर्तन नगरेको स्पष्ट देखिन्छ । उनले युक्रेनलाई ‘प्याट्रियट’ क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति दिने आफ्नो वाचाबाट समेत पछि हटे । रुसविरुद्ध लक्षित ‘कडा प्रतिबन्ध’सम्बन्धी विधेयक अमेरिकी सिनेटबाट पारित भए पनि तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा यसको भविष्य अनिश्चित छ । यदि यो विधेयक कानुनका रूपमा पारित भए पनि यसले युक्रेनको पक्षमा युद्धको दिशा बदल्न सक्ने कुरामा कुनै निश्चितता छैन ।
यसैबिच, युक्रेन आफ्नो रक्षा गर्न संघर्ष गरिरहेको छ । ट्रम्पको इरान–केन्द्रित नीतिका कारण युक्रेनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक क्षेप्यास्त्र पर्याप्त मात्रामा पाउन सकेको छैन । फलस्वरूप, किभ र अन्य सहरमा भएका पछिल्ला आक्रमणमा रुसका लगभग सबै क्षेप्यास्त्रले आफ्ना लक्ष्यमा प्रहार गर्न सफल भएका छन् ।
यसको अर्थ सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनले अहिलेसम्मकै सबैभन्दा कठोर जाडोको सामना गर्नुपर्ने अवस्था आएको छ । युक्रेनी अधिकारीलाई डर छ कि रुसले ऊर्जा पूर्वाधार ध्वस्त पार्नुका साथै ढल निकास र खानेपानी आपूर्ति प्रणालीलाई पनि निसाना बनाउनेछ, जसले गर्दा युक्रेनी सहर बसोवासका लागि अयोग्य बन्न सक्छन् । क्षितिजमा यो विनाशकारी सम्भावना देखिँदै गर्दा वार्ताको टेबलमा पीडादायी सम्झौता फेरि एकपटक राष्ट्रिय विपत्तिबाट युक्रेनको एक मात्र बाटोको रूपमा देखा परेका छन् । उनको उग्र बयानका बाबजुद, जेलेन्स्की त्यस दिशामा अघि बढिरहेका हुन सक्छन् ।
४० दिने अभियानको बिचमा युक्रेनी राष्ट्रपतिले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा उनले रक्षामन्त्री मिखाइलो फेदोरोभलाई बर्खास्त गरे । फेदोरोभले रुसविरुद्ध मध्यम र लामो दूरीको हमलाको नेतृत्व गरेका थिए । पछि जेलेन्स्कीले आफ्ना कट्टर पश्चिमी सहयोगी र यस कदमविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनको प्रयास गर्ने उनीहरूका युक्रेनी प्रतिनिधिबाट फेदोरोभेलाई पुनर्स्थापित गर्न दबाबको सामना गरे । कम चर्चामा आएको अर्को एक घटनाक्रममा जेलेन्स्कीले युरोपेली एकीकरण हेर्ने उपप्रधानमन्त्री तारास काच्कालाई पनि पदमुक्त गरे । पदमुक्त हुनुभन्दा केही महिनाअघि काच्काले युरोपेली संघकी विस्तारसम्बन्धी आयुक्त मार्ता कोससँग मिलेर युक्रेनमा भ्रष्टाचारविरुद्ध लड्न र कानुनको शासन सुदृढ गर्न १० बुँदे सुधार योजना तयार पारेका थिए ।
उक्त योजनामा समेटिएका केही सुधारले कानुन कार्यान्वयन निकायमाथि राष्ट्रपतिले राख्ने नियन्त्रणलाई (भ्रष्टाचारविरुद्धको अनुसन्धानको सन्दर्भमा) निकै सीमित पार्ने खालका थिए । जेलेन्स्कीको नियन्त्रणमा रहेको युक्रेनी संसद्ले यी कानुन पारित गर्न अस्वीकार गर्दै आएको छ । यसको एउटा मुख्य कारण ती कानुनले राष्ट्रपतिलाई नै जोखिममा पार्ने सम्भावना हुनु हो, किनकि गत शरद ऋतुदेखि नै उनका निकटतम सहयोगी ठुलो स्तरको भ्रष्टाचार अनुसन्धानको घेरामा छन् ।
युद्धको समयमा युक्रेनको मुख्य आर्थिक सहयोगी युरोपेली संघ (इयू) लाई चिढ्याउने जोखिम मोल्नु एक शंकास्पद कदम हुन सक्छ । जेलेन्स्कीले पुटिनसँग शान्ति सम्झौता गर्ने निर्णय गरे भने उनीमाथि महाभियोगको जोखिम हुनेछ ।
साथै, सम्झौताका सर्त पक्कै पनि अप्रिय हुने भएकाले त्यसबाट उत्पन्न हुन सक्ने खतरनाक प्रतिक्रियालाई रोक्न उनले रुसी शैलीको सुरक्षा संरचना कायम राख्नुपर्ने हुन्छ । मिखाइलोको बर्खास्तीप्रति समाजको प्रतिक्रिया खासै सशक्त नदेखिएकाले जेलेन्स्कीले आफूलाई बलियो महसुस गरेका हुनुपर्छ, किनभने पश्चिमा सञ्चारमाध्यममा निकै चर्चा पाएका व्यक्ति (मिखाइलो) का लागि क्रान्ति गर्न धेरै युक्रेनी इच्छुक देखिएनन् ।
द कन्भर्सेसनबाट
(रागोजिन रिगास्थित स्वतन्त्र पत्रकार हुन्)