कांग्रेस नेता नैनसिंह महरलाई ३ प्रश्न

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्किरहने कारण के हो ?
पार्टीको विधान, पद्धति र प्रोसेसलाई ध्यान नदिएपछि यस्तो विवाद चर्किनु स्वाभाविक हो । सबैले आफूअनुकूल प्रतिनिधि चयन गराउन तलैदेखि हस्तक्षेप गर्नुले नै यो समस्या पटक–पटक बल्झिने गरेको हो । पार्टीको नेतृत्व छनोटमा क्रियाशील सदस्यकै प्रत्यक्ष, अप्रत्यक्ष भूमिका रहने हुनाले पनि यसमा विवाद झिकिएको हो । सामान्यतः साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता लिन पाइन्छ । हरेक महाधिवेशनपछि आवश्यकताका आधारमा कतिलाई क्रियाशील सदस्यता दिने भन्नेबारे केन्द्रीय कार्य समितिले निर्णय गर्छ । यस क्रममा वडा, क्षेत्र र जिल्ला नेतृत्वले आफूलाई फाइदा हुने हिसाबले क्रियाशील सदस्यता वितरण गर्छ । अनि, आफूलाई हुने हित या अहित हेरेर केन्द्रले वडासम्मै हस्तक्षेप गर्छ । यसले गर्दा यो समस्या पटक–पटक बिउँतिने गरेको हो । 

हरेक महाधिवेशनअघि यो विवाद चर्किनुले चाहिँ के संकेत गर्छ ?
कांग्रेसमा नीतिगत तथा वैचारिक रूपमा ठुलो ‘डिबेट’ भएको देखिन्न । खालि नेतृत्वमा को रहने या नरहने, को बलियो हुने या कसलाई कमजोर बनाउने भन्ने विषयमा मात्र सबैको चासो देखिने गरेको छ । सबैले पार्टीको विधान र निर्देशिका उल्लंघन गरेर आफूअनुकूल निर्णय गर्ने गरेकाले यो समस्या हरेक महाधिवेशनअघि चर्किने गरेको हो । विधानको प्रक्रिया र अंगलाई ख्याल नपुर्याउँदा यस्ता विवाद जन्मिरहन्छन् । 

क्रियाशील सदस्यतामा कसैले विवाद गर्नैनपर्ने विधि बनाउन सकिन्न ? 
क्रियाशील सदस्यता वितरणमा विवाद नै नआउने कुनै वैज्ञानिक विधि छैन । तर, हामी सबैले पार्टीको विधान, त्यसको प्रक्रिया र प्रोसेसलाई मान्यौँ भने यस्तो विवाद दोहोरिइरहनुपर्ने कारण हुँदैन । विशेष राजनीतिक निर्णय लिनुपर्ने परिस्थितिमा बाहेक सबैले विधान र नियमावलीलाई कार्यान्वयन गराउनु र सबैको सहअस्तित्व स्विकारेर अघि बढ्नु नै यस्तो विवाद न्यूनीकरण गराउने मुख्य उपाय हुन सक्छन् । 

सुझावित समाचार