जेन–जी आन्दोलनमा तहसनहस भैँसेपाटीस्थित मन्त्रीनिवासका क्षतिग्रस्त ब्लकहरूको पुनर्निर्माण जारी रहे पनि काम सम्पन्न हुने समय अझै निश्चित हुन सकेको छैन। एउटा ब्लकबाहेक मन्त्रीनिवासका सबै ब्लकमा क्षति पुगेपछि मर्मतसम्भार तथा पुनर्निर्माणको काम तीन चरणमा अघि बढाइएको हो।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार पुनर्निर्माणका लागि तीन चरणमा ठेक्का लगाइएको छ। पहिलो चरणका लागि ८ करोड ६० लाख रुपैयाँ, दोस्रो चरणका लागि १५ करोड ४९ लाख रुपैयाँ र तेस्रो चरणअन्तर्गत इन्टेरियरको कामका लागि १७ करोड ८९ लाख रुपैयाँको स्टिमेट तयार गरिएको छ।
फागुनदेखि सुरु भएको मर्मतसम्भार तथा पुनर्निर्माणको कामको म्याद भदौ र असोजसम्म तोकिएको थियो। पहिलो चरणको ठेक्काको म्याद साउन मसान्त, दोस्रो चरणको २० भदौ र तेस्रो चरणको १० असोजसम्म तोकिएको थियो। पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि भदौसम्म म्याद थप गरिएको छ।
प्रमुख कण्ठका अनुसार इन्टेरियरको कामका लागि आवश्यक कामदार र निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको हो। पुनर्निर्माण सम्पन्न भएपछि मन्त्रीहरूको बसोबासको व्यवस्था भैँसेपाटीस्थित मन्त्रीनिवासमै गरिनेछ।
हाल मन्त्रीहरू पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरमा बस्दै आएका छन्।