राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले अझै पूर्णता पाउन सकेको छैन । शुक्रबार बसेको केन्द्रीय समितिले ६ पदाधिकारी र नौ केन्द्रीय सदस्य मनोनीत गरेको छ । अझै पाँच पदाधिकारी र ४२ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
गत ७ देखि १२ असारसम्म चितवनमा सम्पन्न रास्वपाको चितवनमा पहिलो महाधिवेशनले ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । निर्वाचितबाहेक सभापतिले १२ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था पार्टी विधानमा छ ।
केन्द्रीय समितिले पदाधिकारी र सदस्य क्रमशः थप्दै लगेको छ । समावेशितालाई प्राथमिकतामा राखेर नयाँ जिम्मेवारी बाँडफाँट गरिएको रास्वपाको दाबी छ । तर, केन्द्रीय समिति विस्तारमा भइरहेको ढिलाइले पार्टीको संगठनात्मक संरचना पूर्ण कहिले हुन्छ भन्ने प्रश्न उठाएको छ ।
यसअघि केन्द्रीय समितिको १७ असारमा बसेको पहिलो बैठकमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराइएको थियो भने १३ साउनमा बसेको दोस्रो बैठकले एक मात्र पदाधिकारी प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनीत गरेको थियो । सभापति लामिछानेको नेतृत्वमा सात सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको थियो ।
रास्वपाका महामन्त्री विपिन आचार्यले केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्य मनोनयनमा ढिलाइ नभएको दाबी गरेका छन् । महामन्त्री आचार्यले सभापतिको नीति नै उपयुक्त व्यक्तिलाई सही विधि र समयमा जिम्मेवारी दिने रहेको बताए । त्यसैअनुसार केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरिएको उनको भनाइ छ । ‘एकैपटक गर्नुभन्दा स्टेप बाई स्टेप जाने समझदारी हो । राइट वेमा, राइट टाइममा, राइट पर्सन ल्याउने नीति प्रयोग गरिरहेका छौँ,’ उनले भने । आचार्यले पछिल्लो मनोनयनलाई पार्टीभित्रको मतभेदसँग जोड्न नहुनेसमेत बताए । उनका अनुसार सभापति र वरिष्ठ नेताबिचको समझदारीमै योग्य व्यक्तिलाई क्रमशः जिम्मेवारी दिइँदै छ ।
बुधबार सांसदहरू र मन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले भनेका थिए, ‘केन्द्रीय समितिलाई परिपूर्ण गर्ने भनेको पाँच वर्षभित्र गर्ने कार्य हो । भोलि चारजना, पर्सि पाँचजना, अर्को दिन १० जना गरौँला । सभापतिलाई विधानले दिएको अधिकारअनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौँ । कसैले नाम दिने नै होइन यो । पार्टीले छलफल गर्ने हो । मलाई विभिन्न साथीहरूले प्रस्ताव गर्नुहुन्छ । हामी दुई धार भएको र नाम दिने भन्ने कुरालाई पूर्णतः खारेज गर्छु ।’
महामन्त्री आचार्यले पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनमा पार्टीले समावेशितालाई उच्च प्राथमिकता दिएको बताए । केन्द्रीय सदस्य मनोनयनमा पनि समावेशी प्रतिनिधित्वलाई विशेष ध्यान दिइएको उनको भनाइ छ । ‘आजको मनोनयन हेर्नुभयो भने सहमहामन्त्री मधेशी, सहप्रवक्ता मधेशी महिला, कोषाध्यक्ष आदिवासी जनजाति, सहकोषाध्यक्ष आदिवासी जनजाति महिला र सहप्रवक्ता थारू समुदायको हुनुहुन्छ । सबै समावेशिताकै आधारमा गरिएको हो,’ आचार्यले भने, ‘सहमहामन्त्रीमा मधेशी तथा सहप्रवक्तामा मधेशी महिला, कोषाध्यक्षमा आदिवासी जनजाति तथा सहकोषाध्यक्षमा आदिवासी जनजाति महिला छनोट गरिएको छ ।’
त्यसैबिच रास्वपाले केन्द्रीय सदस्यहरूलाई दुईदिने प्रशिक्षण दिने भएको छ । कुल १५८ मध्ये अहिलेसम्म निर्वाचित भएका ११८ केन्द्रीय सदस्यलाई शनिबार र आइतबार गरी दुई दिन प्रशिक्षण दिइने महामन्त्री आचार्यले बताए । महाधिवेशनपछि केन्द्रीय सदस्यलाई रास्वपाको यो पहिलो प्रशिक्षण हो ।
११ मध्ये ६ पदाधिकारी मात्रै
१९ सदस्यीय पदाधिकारीमा प्रथम महाधिवेशनबाट सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए । बाँकी १२ पदाधिकारीमा दोस्रो केन्द्रीय समिति बैठकबाट वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनीत गरिएको थियो । शुक्रबार बसेको तेस्रो बैठकले सहमहामन्त्री पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्ष डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता जगदीश खरेल (ललितपुर), सहप्रवक्ता डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ । अझै उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहकोषाध्यक्ष र सहप्रवक्ता मनोनीत गर्न बाँकी छ ।
५१ मध्ये नौ केन्द्रीय सदस्य
१५८ केन्द्रीय समितिमा महाधिवेशनबाट ९९ निर्वाचित भइसकेका छन् । सभापति र सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बाँकी ५१ मध्ये शुक्रबार सभापति लामिछानेले नौजना मात्रै मनोनीत गरेका छन् । जसमा सुनील लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई रहेका छन् । अझै ४२ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
सचिवालयमा थपिए ११ जना
केन्द्रीय समितिले पार्टीको केन्द्रीय सचिवालयमा ११ सदस्य मनोनीत गरेको छ । सभापति लामिछानेको नेतृत्वमा गठन भएको सचिवालयमा यसअघि सात सदस्य थिए । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, असिम शाह र निशा डाँगी थिए । शुक्रबार थपिएका सदस्यहरूमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, कवीन्द्र बुर्लाकोटी, जगदीश खरेल (ललितपुर), लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनीष झा रहेका छन् । ३३ सदस्यीय सचिवालयमा अझै १५ सदस्य मनोनीत गर्न बाँकी छ ।
२८ मध्ये ६ विभागको प्रमुख मनोनीत
रास्वपाले २८ विभागमध्ये ६ विभागको प्रमुख मनोनीत गरेको छ भने एक विभागमा उपप्रमुख मनोनीत गरेको छ । महामन्त्री आचार्यका अनुसार संगठन विभागमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यस्थापन विभागमा विजय जैरू, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख मनोनीत भएका छन् । प्रशिक्षण विभागमा कमल सुवेदी उपप्रमुख मनोनीत भएका छन् । अझै २२ विभागमा प्रमुख मनोनीत गर्न बाँकी छ । रास्वपाले लेखा, अनुशासन र निर्वाचन आयोगमा भने यसअघि नै प्रमुख मनोनीत गरिसकेको छ ।
पालिका उम्मेदवारको छनोट विधि परिमार्जन
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ । महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा केन्द्रीय समिति बैठकले प्राप्त सुझावसमेत समेटेर अनुमोदन गरेको हो । संशोधित दस्ताबेज आइतबार सार्वजनिक गरिने आचार्यले बताए । बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी प्रक्रिया र मापदण्डबारे देशभरका ४६० गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रमको संयोजनको जिम्मेवारी सहमहामन्त्री निशा डाँगीलाई दिइएको छ ।
‘राइट टु रिकल’का लागि समिति गठन
रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज तयार गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । पछिल्लो समय पार्टीभित्र सांसदको आचरण र जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारबारे बहस चलिरहेका वेला यस्तो समिति गठन गरिएको हो । खासगरी सांसदको आचरणलाई लिएर यो बहस भइरहेको छ ।
मधेशको संगठन अडिट गर्न समिति
केन्द्रीय समिति बैठकले अधिवेशन हुन बाँकी मधेश प्रदेशको संगठन अडिटका लागि समिति बनाएको छ । सहमहामन्त्री हरि ढकालको नेतृत्वमा मधेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नु पूर्वसंगठनको अडिट गर्न पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहने महामन्त्री आचार्यले बताए । उनका अनुसार बैठकले असोज महिनादेखि स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।