सत्तापक्षलाई शंकर पोखरेलको चेतावनी– लोकप्रियताको आधारमा अघि बढ्दा जोखिम निम्तिएला

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै दीर्घकालीन योजना, संस्थागत तयारी र राज्य सञ्चालनको अनुभवविना लोकप्रियताको आधारमा अघि बढ्दा जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्।

पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तलीले अघि सारेको महत्त्वाकांक्षी परियोजनाको उदाहरण दिँदै ठुलो पूर्वाधार निर्माण मुख्यतः दानदातव्यमा निर्भर रहँदा त्यसले संकट निम्त्याउन सक्ने बताएका हुन्। उनले उक्त उदाहरणलाई पछिल्लो समय उदाएका नयाँ राजनीतिक नेतृत्वको कार्यशैलीसँग जोडेर टिप्पणी गरेका छन्।

विशेषगरी रवि लामिछाने र बालेन्द्र शाहतर्फ संकेत गर्दै पोखरेलले नयाँ नेतृत्वमा लोकप्रियता र डिजिटल प्रभावलाई प्राथमिकता दिइए पनि दीर्घकालीन राजनीतिक योजना, संस्थागत क्षमता तथा राज्य सञ्चालनको पर्याप्त तयारी देखिन नसकेको बताएका छन्।

उनका अनुसार राजनीति सामाजिक सञ्जालको लोकप्रियतामा मात्र आधारित विषय होइन। राजनीति लामो संघर्ष, संगठन निर्माण, नीति निर्माण र राज्य सञ्चालनको कला तथा विज्ञानसँग जोडिएको विषय भएकाले लोकप्रियताको प्रारम्भिक उभारलाई दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्न संस्थागत क्षमता आवश्यक हुन्छ।

पोखरेलले आर्थिक शिथिलता, सामाजिक तनाव र राजनीतिक अन्योलबिच नयाँ नेतृत्वले आफ्नो कार्यशैलीबारे समयमै समीक्षा गर्नुपर्ने बताएका छन्। स्पष्ट योजना र दीर्घकालीन दृष्टिकोणविना राज्य सञ्चालन गर्न खोजिए प्रारम्भिक लोकप्रियता टिकाउन कठिन हुने उनको चेतावनी छ।

उनले भने, ‘स्वेच्छाचारी ढंगले राज्य सञ्चालन गर्ने र दीर्घकालीन तयारीलाई बेवास्ता गर्ने हो भने भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको अवस्था नआउला भन्न सकिन्न।’ पोखरेलको यो अभिव्यक्तिले नयाँ राजनीतिक शक्तिको क्षमता, तयारी र राज्य सञ्चालनसम्बन्धी दृष्टिकोणबारे भइरहेको बहसलाई थप चर्काउने देखिएको छ।

सुझावित समाचार