संसद्बाहिरका नौ दलको ‘अग्रगामी मोर्चा’ कति अग्रगामी बन्ला ?
सरकारको नेतृत्वकर्ताको मौनताका कारण यतिखेर संविधानको भविष्य के हुने, नागरिक र सेनाबिचको सम्बन्ध कस्तो हुने, संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुनेजस्ता अनेकौँ आशंका जन्मिरहेका छन् । यस्तोमा संसद्बाहिर रहेका दलहरूको अग्रगामी मोर्चा बनेको छ । यो मधेशी दलहरूको मोर्चा होइन । महन्थजी र सिके राउतजीलाई छाड्ने हो भने यो वामपन्थी रुझान भएका दलहरूको मोर्चा हो ।
सदनबाहिरबाट सरकारलाई दबाब दिन, हराइरहेको आफ्नो अस्तित्व जगाउन यो मोर्चा बनेको हो । तर, नामअनुसार यो मोर्चा साँच्चै अग्रगामी बन्छ या बन्दैन, त्योचाहिँ अहिले नै भन्न सकिन्न । बासी र पुरानै अनुहारले पत्यारिलो वातावरण सिर्जना गर्न सक्दैन । नयाँ र ताजा अनुहार नआउने हो भने जनताले विश्वास गर्दैनन् । गत वर्षको भदौरे झड्कासँगै जनताले देउवा, ओली र प्रचण्डको मात्र विकल्प खोजेका होइनन्, अन्य दलमा पनि परिवर्तन चाहेका छन् । पुरानै अनुहार र नाराले भुइँतहलाई आकर्षित गर्न सकिन्न । प्रक्रिया र पात्रलाई गौण राखेर परिणाम मात्र खोज्दा लक्ष्यमा पुग्न सजिलो हुँदैन ।
अग्रगामी मोर्चामा राजेन्द्र महतोचाहिँ किन नअटाएका होलान् ?
पहिले महन्थजी र अहिले उपेन्द्रजी मधेशको राजनीतिको केन्द्रमा हुनुहुन्छ । राजेन्द्रजी जनजातिसहितको मोर्चा बनाउने समानान्तर गतिविधिमा हुनुहुन्छ । यस्तोमा उहाँ छुट्नु संयोग मात्र त पक्कै होइन ।
मोर्चाले पछिल्लो निर्वाचनमा मधेशमा शून्यमा झरेका दलहरूको विरासत फर्काउन कति सघाउला ?
पछिल्लो निर्वाचनबाट मधेशले मधेशको मात्र होइन, सिंगो देशकै नेतृत्व गर्नुपर्छ भनेर बालेन्द्रजीमाथि भरोसा गरेर रास्वपालाई मत दिएको हो । त्यसैले, मधेशमा विरासत फर्काउन अझ धेरै गर्न बाँकी नै छ । मोर्चा बनाउँदैमा तत्काल विरासत फर्किहाल्छ भनेर विश्वास गर्न सकिँदैन ।