ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापालाई ३ प्रश्न

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

आयातमा कुनै समस्या छैन भनेर आयल निगमले दाबी गरिरहेको छ, तैपनि बजारमा ग्यास आपूर्ति किन असहज भइरहेको छ ?
केही महिनायता आधा ग्यास भरिएका सिलिन्डर मात्रै प्रचलनमा थिए, तर ३१ असारदेखि पूरा तौल भएको सिलिन्डर बजारमा आयो । जसका कारण अधिकांश उपभोक्ताले घरमा भएका सबै रित्ता सिलिन्डर भर्न र स्टक राख्न खोजे । यसले गर्दा बजारमा खाना पकाउने ग्यासको माग ह्वात्तै बढ्यो । जसले गर्दा डिलरमा आउने ग्यास तुरुन्तै सकिने अवस्था सिर्जना भयो । अहिले एउटा वा दुईवटा मात्रै सिलिन्डर हुने उपभोक्ता भने धेरै मारमा परेका छन् । अहिले बजारमा ग्यासको अभाव भएको हुँदै होइन । धेरै सिलिन्डर स्टक राख्ने प्रवृत्तिले गर्दा आपूर्ति व्यवस्थामा केही असहजता आएको मात्र हो ।

हाम्रो वितरण प्रणालीमा पनि गम्भीर समस्या छ भनिन्छ नि ?
हो, वितरण प्रणालीमा पक्कै समस्या छ । स्थानीय निकायमा दर्ता नभएका र भूमिगत डिलर पनि यहाँ धेरै छन् । जसका कारण उद्योगबाट निस्केको ग्यास कहाँ, कसरी र कुन परिमाणमा खपत भइरहेको छ भन्ने यकिन तथ्यांक निकाल्न सकिएको छैन । वितरण प्रणाली व्यवस्थित गर्न सकियो भने यसबाट दीर्घकालसम्मै ग्यासको असहजता हट्छ ।

अहिले देखिएको समस्याको समाधान के हो त ?
सम्पूर्ण ग्यास डिलरलाई अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्छ । यसो गरियो भने उद्योगबाट निस्किएको ग्यास कहाँ, कसरी र कुन परिमाणमा खपत भइरहेको छ भन्ने यकिन तथ्यांक उपलब्ध हुन्छ । त्यसपछि आपूर्ति व्यवस्थालाई सहज गर्न धेरै सजिलो हुन्छ । यसमा व्यवसायी र राज्य दुवैको संयुक्त पहलको खाँचो छ । 

सुझावित समाचार