विदेशी भूमिमा तीन वर्षपछि पाकिस्तानको जित

तेस्रो विकेटका लागि बाबर र अब्दुल्लाहले १८३ रनको साझेदारी गरेपछि पाकिस्तान जिततर्फ बढेको थियो

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

पाकिस्तानले तीन वर्षपछि विदेशी भूमिमा टेस्ट जितेको छ । खराब इतिहास बनाउँदै आएको पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा आठ विकेटको जित निकालेको हो । त्रिनिदाद एन्ड टोबागोको राजधानी पोर्ट अफ स्पेन स्विन्स पार्क ओभरमा कप्तान बाबर आजम र अब्दुल्लाह साफिकी चम्किएपछि पाकिस्तानले सहज जित निकालेको हो । 

सन् २०२३ जुलाईमा श्रीलंकालाई हराएयता पाकिस्तानले आफ्नो देशबाहिर खेलेका लगातार आठ टेस्ट हारेको थियो । अब, भने त्यो खराब यात्रामाथि पूर्णविराम लागेको छ । बुधबार राति वेस्ट इन्डिजले दिएको ७७ रनको लक्ष्य चौथो दिन पाकिस्तानले २३.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । कप्तान बाबर र अब्दुल्लाहले अविजित समान २४ रन बनाएका थिए । यससँगै दुई टेस्टको शृंखला १–१ को बराबरीमा सकिएको छ । टेस्ट बराबरीपछि दुवै टिमले संयुक्त रूपमा ट्रफी पाए । यसअघि पहिलो टेस्ट घरेलु टोली वेस्ट इन्डिजले ९० रनले जितेको थियो ।

दोस्रो टेस्टको प्लेयर अफ दी म्याच शतक बनाएका अब्दुल्लाह घोषित भए । प्लेयर अफ दी सिरिज भने संयुक्त रूपमा पाकिस्तानका कप्तान बाबर र वेस्ट इन्डिजका जस्टिन ग्रेभस भएका हुन् । यसअघि टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले ३३३ रन बनाएको थियो । कप्तान चेज र जस्टिनले अर्धशतक बनाए । जस्टिनले ७३ तथा चेजले ७० रन बनाएका हुन् ।

पाकिस्तानका साजिदले पहिलो इनिङ्समा चार विकेट हात पारेका थिए । जवाफमा पाकिस्तानका लागि अब्दुल्लाह साफिकीले शतकीय इनिङ्स खेलेका थिए । उनले १६० रन बनाएका हुन् । त्यसक्रममा ३२३ बलको सामना गर्दै १५ चौका र तीन छक्का हिर्काएका हुन् । उनलाई कप्तान बाबर आजमले ८८ रन बनाएर साथ दिएका थिए । यसअघि ओपनर अजाम अवाइससले पनि ५५ रन बनाएका थिए । तेस्रो विकेटका लागि बाबर र अब्दुल्लाहले १८३ रनको साझेदारी गरेपछि पाकिस्तान खेलमा फर्किएको थियो । त्यसअघि अजान र अब्दुल्लाहले ६४ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका जोमल वारिक्यानले सर्वाधिक ६ विकेट लिएका थिए । समर जोसेफको नाममा दुई विकेट रह्यो । दोस्रो इनिङ्समा पाकिस्तानले वेस्ट इन्डिजले मात्र ११७ रन बनाएको थियो । काभेम होगले सर्वाधिक ३४ रन बनाए । यसपछि पाकिस्तानले मात्र ७७ रनको लक्ष्य पाएको थियो । 
 

सुझावित समाचार