संसद्को मर्यादामा पोसाक या पहिरनको भूमिका कस्तो हुन्छ ?
सांसदको पोसाक मर्यादित हुनुपर्छ भन्नेमा द्विविधा छैन । तर, मर्यादित भनेको कस्तो हो भन्ने विषयमा चाहिँ छुट्टै बहस हुन सक्छ । पहिले राष्ट्रिय पोसाक दौरासुरुवाल नै लगाउने चलन थियो । त्यतिखेर गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीले चाहिँ त्यसलाई मान्दैनथ्यो । अहिले त आआफ्नो पहिचानअनुसार पोसाक लगाउने चलन बढेको देखिन्छ । विगतमा पनि ठुला नेताले नै टाई–सुट लगाएको देखियो । पोसाकको मर्यादा ठुला नेताबाटै बिग्रिन सुरु भएको हो । यतिखेर कालो चस्मा या पोसाकको विषयभन्दा पनि संसद्का अन्य गहन विषयमा केन्द्रित हुनुपर्ने हो । तर, त्यताचाहिँ कसैको ध्यान गएको नदेखिनु दुःखद छ ।
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी कसको हो ?
संसद्लाई मर्यादित बनाउने मुख्य जिम्मेवारी सभामुखकै हो । तैपनि, विभिन्न दलका संसदीय दलका नेता, प्रमुख सचेतक तथा सचेतकको पनि यसमा गहन जिम्मेवारी हुन्छ । आआफ्ना दलका सांसदलाई मर्यादित गराउनु उहाँहरूकै दायित्व हो । सभामुखले पनि दलका नेता, प्रमुख सचेतक, सचेतकलाई बोलाएर तिम्रा सांसदलाई सम्झाऊ भन्नुपर्छ । यति गर्दा पनि नमाने रुलिङ गर्न सक्नुपर्छ । तर, अहिले त्यस्तो होला जस्तो लाग्दैन । संसद् चलिरहेको वेलामा महत्वपूर्ण सम्बोधन संसद्बाटै हुनुपर्नेमा प्रधानमन्त्रीले केही दिनअघि कार्यालयबाट देशवासीका नाममा सम्बोधन गर्नुभयो । यसबारे प्रतिपक्षी दलदेखि कसैले प्रश्न उठाएको देखिएन ।
प्रधानमन्त्री, गृहमन्त्रीलगायतले कालो चस्मा लगाएमा वा पोसाकको मर्यादा पालना नगरेमा सभाबाट निष्कासन गर्न सकिन्छ ?
प्रधानमन्त्रीले आफूले बोलेको विषयमा उठेका प्रश्नको जवाफ त दुई महिनाभन्दा बढी समय हुँदा पनि दिनुभएको छैन र सभामुखले उहाँलाई बोलाउन या त्यसबारे रुलिङ गर्न सक्नुभएको छैन भने कालो चस्मा, पोसाक आदिका कारण सभामुखले उहाँहरूलाई निष्कासन गर्नुहोला भनेर कसरी विश्वास गर्ने ?