कांग्रेस नेता नैनसिंह महरलाई ३ प्रश्न

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

संस्थापनइतर समूहले राष्ट्रिय भेला बोलाएसँगै कांग्रेस फुटको डिलमा पुगेको हो ?
पछिल्लो समयमा कांग्रेसभित्र विकसित परिस्थितिको आकलन गर्दा सबै आआफ्नै अडानमा देखिनुहुन्छ । राष्ट्रिय भेला आह्वानसँगै पार्टी फुटको डिलमै पुगेको हो कि जस्तो पनि देखिन्छ । त्यसैले, हामी दुवै पक्षसित घनीभूत छलफलमै छौँ । छलफलबाट सहकार्य र एकताका पक्ष र विपक्षमा दुवै पक्षको ‘पोजिसन’ पनि थाहा भयो । सबैले मिल्नुपर्छ, फुटेर जानुहुँदैन, फुट्दा झनै कमजोर भइन्छ भन्ने महसुस गर्नुभएको देखिन्छ । त्यसैले, हामीले पार्टीको सम्पूर्ण एकताका लागि दबाब बढाउन विशेष अभियान नै चलाइरहेका छौँ । 

शीर्ष तहमा सहमति जुट्न नसकिरहेको अवस्थामा तपाईंहरूले सहमति जुटाउन सक्नुहोला त ?
हामीले पार्टीभित्र देखिएको अनेकतालाई एकतामा बदल्न समन्वय गर्दै आएका छौँ । ०३३ मा बिपी कोइराला स्वदेश फर्किंदा पनि देशमा सहज अवस्था थिएन । आज कांग्रेस आन्तरिक विवादमा अल्झिरहेको अवस्थामा पनि देशमा सहज स्थिति छैन । यतिखेर सरकार अत्यन्त असहिष्णु देखिन्छ । नयाँ सरकार बनेपछि के–के नै भइहाल्छ भन्ने जनअपेक्षामा तुसारापात भइरहेको छ । राष्ट्र र राष्ट्रियतामै आँच आउने त होइन भन्ने प्रश्नसमेत उठिरहेको समयमा कांग्रेसले विखण्डित भएर होइन, एकताबद्ध र बलियो भएर मात्र देशको परिस्थिति सम्हाल्न सक्छ । त्यसैले, सबै मिल्नुपर्छ भनेर हामीले दबाब सिर्जना गरिरहेका छौँ ।

तपाईंहरूले विकल्प मात्रै अघि सार्नुभएको हो कि दुवै पक्षसित ठोस छलफल पनि गर्नुभएको छ ?
हामीले सबैसित व्यक्तिगत र सामूहिक छलफल गरेर वैकल्पिक प्रस्ताव ल्याएका हौँ । आगामी केन्द्रीय समिति बैठकमा यस विषयमा घनीभूत बहस हुन्छ । अलगथलग कांग्रेसले देशको त कुरै छाडौँ, पार्टीका तल्लो तहका नेता, कार्यकर्ताको भावनालाई समेत सम्बोधन गर्न सक्दैन । त्यसैले, एकजुट हुनुको विकल्प नभएको यथार्थ सबैले बुझ्नुहुनेछ भन्ने विश्वास छ । 

सुझावित समाचार