देशमा नर्सिङ जनशक्तिको उपलब्धता कस्तो छ ?
हाम्रो देशको स्वास्थ्य क्षेत्रको मागका आधारमा भन्ने हो भने नर्सिङ जनशक्तिको अभावै छ भन्ने अवस्था छैन । तर, विद्यालय नर्स कार्यक्रमका लागि पनि नर्सिङ जनशक्ति आवश्यक पर्ने हुनाले प्रायः दुर्गमका विद्यालयमा चाहिँ मागअनुसारको जनशक्ति नपाएको गुनासो यदाकदा सुनिन्छ । तर, सहरमा भने त्यस्तो अभाव छैन । अहिले देशभर नर्सिङ कलेजको संख्या पनि बढ्दै छ । यससँगै नर्सिङ जनशक्तिको उत्पादन पनि बढ्दै छ । यस्तोमा उत्पादित जनशक्ति विदेश पलायन नहुने हो भने हामीकहाँ नर्सिङ जनशक्तिको अभाव हुँदैन । तर, पलायन पनि भइरहेको हुनाले भविष्यमा समस्या नै नआउला चाहिँ भन्न सकिन्न ।
नर्समाथि श्रमशोषण बढी र सेवा, सुविधा कम भएको गुनासो पटकपटक उठिरहेको सुनिन्छ नि ?
देशैभरिका सम्पूर्ण स्वास्थ्य संस्थालाई एउटै बास्केटमा हालेर हेर्न मिल्दैन । कतिपय संस्थाले यसअघिका दिनमा भएका सम्झौताअनुसार नै सेवा, सुविधा दिएको अवस्था पनि छ । कतिपयले सम्झौताभन्दा बढी नै दिएको अवस्था पनि नभएको होइन । तर, यसो भन्दैमा समस्या नै नभएको भने होइन । कतिपय अस्पताल र मेडिकल कलेजमा कामको लोड बढी र सेवा, सुविधा कम रहेको गुनासो वेलावेलामा सुनिन्छन् । ठाउँ विशेष र इन्स्टिच्युटअनुसार नर्सिङ जनशक्तिको सेवा, सुविधामा अन्तर छ र त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था पनि छ ।
नर्सहरूका गुनासा सम्बोधन गरेर भविष्यमा फेरि आन्दोलन गर्न नपर्ने अवस्था सिर्जना गर्न सकिन्न ?
अहिले नर्सहरूले विभिन्न माग राखेर आन्दोलन गरिराख्नुभएको छ । आन्दोलनरत र सरोकारवाला दुवै पक्ष वार्तारत रहेको हुनाले माग सम्बोधन हुने अपेक्षा गर्न सकिन्छ । अहिले ती माग सम्बोधन गर्न सकियो भने त्यसले दीर्घकालका लागि राम्रै गर्ला । तर, भविष्यमा कहिल्यै आन्दोलन गर्नैनपर्ने अवस्थाको ग्यारेन्टी त कसरी गर्न सकिएला र ?