नेपालको कम्युनिस्ट आन्दोलनका नेता स्वर्गीय जीवराज आश्रितको ८३औँ जन्मजयन्तीको अवसरमा ‘जीवराज आश्रितको वैचारिक आलोक’ (जीवनी, व्यक्तित्व र कृतित्व) पुस्तकको विमोचनसहित विमर्श कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ।
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लIला गिरीले पुस्तक विमोचन गर्दै जीवराज आश्रितलाई अनुशासित, सिद्धान्तनिष्ठ र पार्टीप्रति अत्यन्त बफादार नेताका रूपमा चित्रण गरे। उनले आश्रितले अँगालेको आदर्श, राजनीतिक संस्कार र संगठनात्मक प्रतिबद्धता आज पनि अनुकरणीय रहेको उल्लेख गरे।
प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभाका पूर्वसदस्य देवेन्द्र घिमिरेले जीवराज आश्रितलाई सिद्धान्तअनुसार जीवन जिउने सच्चा कम्युनिस्ट नेताका रूपमा स्मरण गर्दै उनको राजनीतिक निष्ठा र जीवनशैली भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताए।
प्रतिष्ठानका अध्यक्ष युवराज घिमिरेले प्रतिष्ठानले समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर वैचारिक तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै पुस्तकले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विमोचित पुस्तकमाथि साहित्यकार ऋषिराम भुसाल र रामचन्द्र श्रेष्ठले समीक्षा तथा टिप्पणी गर्दै जीवराज आश्रितको जीवनी, वैचारिक स्पष्टता तथा नेपाली राजनीतिमा उनले पु¥याएको योगदानको चर्चा गरे। पुस्तकका लेखक डा. मुरारी पराजुलीले पुस्तककाबारेमा धारणा राखेका थिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष यज्ञ गैरे, डा. सागर न्यौपानेलगायतले आश्रितको व्यक्तित्व, निष्ठाको राजनीति तथा उनका विचारहरूको वर्तमान सान्दर्भिकतामाथि प्रकाश पारेका थिए। कार्यक्रमका वक्ताहरूले जीवराज आश्रितले देखाएको मार्गदर्शन, सिद्धान्त र राजनीतिक संस्कारलाई वर्तमान वामपन्थी आन्दोलनले आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलन विभिन्न चुनौतीको सामना गरिरहेको धारणा व्यक्त गरे।
वाम बुद्धिजीवी, साहित्यकार, प्रतिष्ठानका आजीवन सदस्य, पदाधिकारी, सदस्य तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।