आयल निगमका निर्देशक विनीतमणि उपाध्यायलाई ३ प्रश्न

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

देशभर ग्यास आपूर्ति असहज देखिनुको खास कारण के हो ?
दुई महिनाअघि वैशाख र जेठमा ग्यासको खपत निकै घटेको थियो । तर, असार अन्तिमदेखि १४.२ किलोको पूर्ण तौलको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएपछि उपभोक्ताले घरमा रहेका खाली सिलिन्डर साट्नतर्फ बढी ध्यान दिनुभएको छ । घरमा खाँचै भएर भन्दा पनि मौज्दात राख्न सिलिन्डर साट्ने प्रवृत्ति अहिले निकै बढेको छ । जसले गर्दा अहिले आपूर्ति असहज भएको हो भन्ने हाम्रो बुझाइ छ ।

बजारको मागअनुसार ग्यास आयात भइरहेको छ कि छैन ?
ग्यास आयात सन्तोषजनक अवस्थामै भइरहेको छ । सामान्य अवस्थामा दैनिक ९५ बुलेटसम्म ग्यास आयात हुने गरेकामा अहिले एकै दिन १ सय ४३ बुलेटसम्म आयात भइरहेको अवस्था छ । आयातमा कुनै अवरोध पनि छैन । हामीले इन्डियन आयल कर्पोरेसनलाई अहिले आयात भइरहेको परिमाणभन्दा बढी उपलब्ध गराउन आग्रह पनि गरेका छौँ । त्यसैले, आयातमा कमी भएर यस्तो अभाव देखिएको हो कि भन्ने आशंका पूर्णतः गलत छ । 

आपूर्ति सहजताका लागि आयल निगमबाट केकस्ता प्रयास भइरहेका छन् ?
ग्यास नपाएको उपभोक्ताको गुनासो सुन्नका लागि हटलाइनको व्यवस्था गरिएको छ । उपत्यकामा सहज आपूर्ति व्यवस्था मिलाउन टेकुमा सामूहिक बिक्री केन्द्र राखिएको छ । बजारको अनुगमन र नियमनलाई तीव्रता दिइएको छ । आयात बढाउनेतर्फ पनि ध्यान दिइएको छ । उपभोक्ताले खालि सञ्चय गर्ने दृष्टिकोणले मात्र ग्यास खरिदका लागि लाइन लाग्ने काम गर्नु हुँदैन । केही दिनमै बजारमा ग्यास बिक्रीमा सहजता आउने छ ।

सुझावित समाचार