कांग्रेस फुटको बाटोमा औपचारिक रूपमै अघि बढेको हो ?
इतिहासमै कमजोर भएको वेला बिपी स्मृति दिवसको कार्यक्रमसमेत एउटै मञ्चमा गर्न नसकेर समानान्तर गरिएपछि राजनीतिक र मनोवैज्ञानिक दुवै दृष्टिले कांग्रेस विभाजित भएको सन्देश गएको थियो । संस्थापनइतर समूहले राष्ट्रिय भेला गर्ने उद्देश्यले शशांक कोइरालाको संयोजकत्वमा समिति घोषणा गरेपछि विवाद थप जटिल र विभाजनउन्मुख देखिएको छ । तर, आजको आवश्यकता विभाजन होइन, एकता हो । कांग्रेसका लागि यो आरोप–प्रत्यारोप, आत्मनिन्दा र आत्मप्रशंसा गर्ने समय होइन, आत्मचिन्तन, आत्मसमीक्षा र आत्मालोचना गर्ने घडी हो । तर, चुनदेवी समूहले यसलाई आत्मसात् गर्न सकेको देखिएन । यस्तो प्रवृत्तिले जनतामा नकारात्मक सन्देश गएको छ भने कार्यकर्ता थप निराश भएका छन् ।
बिपीपुत्र डा. शशांक कोइरालाको नेतृत्वमा भेला आयोजक समिति बन्नुको अर्थ के हुन सक्छ ?
कुनै पनि पार्टीको आन्तरिक मामिला र विवादमा जनतालाई चासो छैन । पार्टीमा पनि गुटका नेता–कार्यकर्ताबाहेक अरूमा चासो देखिन्न । त्यसैले, यसको सन्देश सकारात्मक छैन । यो व्यापक रूपमा पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गरेर नयाँ कांग्रेस बनाउनुपर्ने घडी हो । शास्त्रीय सिद्धान्त, चिन्तन र प्रवृत्तिले नयाँ कांग्रेस बन्दैन । गुटगत भागबन्डा र नेता व्यवस्थापन गरेर तथा पार्टी निर्माणका आधारभूत सिद्धान्त र नीतिमा सम्झौता गरेर नयाँ कांग्रेस बन्दैन । अब गुटगत भागबन्डा र नेताहरूको व्यवस्थापन गर्ने पार्टी होइन, जनताको विश्वास आर्जन गर्ने पार्टीमा कांग्रेसलाई रूपान्तरित गर्न आवश्यक छ ।
अबका दिनमा कांग्रेसका दुई खेमा एक भएर जान सक्ने सम्भावना कति देख्नुहुन्छ ?
पार्टीमा एकता आवश्यक छ । तर, प्राविधिक एकताका नाममा यथास्थितिवादको बन्दी पनि हुनुहुँदैन । किनभने यथास्थितिमा कांग्रेसको भविष्य छैन । त्यसैले, परिवर्तित सन्दर्भमा यदि, तर, यद्यपि, तथापि नभनी अब मौलिक रूपान्तरण र पुनर्गठन गरी नयाँ कांग्रेस बनाउन निर्भीकतापूर्वक अगाडि बढ्नुपर्छ । नयाँ कांग्रेस भनेको सिद्धान्त, विचार, नीति र एजेन्डाका दृष्टिले नयाँ हो, सांगठनिक दृष्टिले नयाँ हो, पुस्ताका दृष्टिले नयाँ हो । यसैगरी संस्कार, अभ्यास र कार्यशैलीको दृष्टिले नयाँ हो । त्यसैले आजको आवश्यकता र जनताको भावनालाई कांग्रेसका नेता–कार्यकर्ताले पनि बुझेर सोहीअनुसार निर्णय गर्नुपर्ने घडी आएको देखिन्छ ।